काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता तथा सांसद सुरेन्द्र चौधरीले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) फेरबदलको विषयलाई लिएर पार्टीभित्र कुनै विवाद नरहेको बताएका छन्।
शुक्रबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै सांसद चौधरीले सरकारको निर्णयलाई लिएर पार्टीभित्र मतभेद रहेको भन्ने प्रचारमा सत्यता नभएको दाबी गरे। उनले पार्टी एकढिक्का रहेको स्पष्ट पारे।
सरकार प्रमुखले आफू मातहतका निकायका प्रमुखहरूलाई आवश्यकताअनुसार फेरबदल गर्न सक्ने अधिकार रहेको उल्लेख गर्दै यसलाई अनावश्यक रूपमा विवादित बनाउन नहुने उनको भनाइ थियो।
‘सरकार प्रमुखले आफू मातहतका कुनै पनि निकायका प्रमुखले आफूलाई विश्वास दिलाएन भने सरुवा गर्न सक्छ,’ चौधरीले भने।
सभापति रवि लामिछानेको भनाइ उद्धृत गर्दै उनले आईजीपी फेरबदलका लागि पार्टीले कुनै निर्देशन नदिने स्पष्ट पारे। बाहिर प्रचार भएजस्तो पार्टीभित्र कुनै मतभेद नरहेको र सबै एकढिक्का रहेको उनको दाबी थियो।
यसैबीच, सांसद चौधरीले न्यायालयमा विकृति रहेको विषयलाई पनि घुमाउरो शैलीमा स्वीकार गरे।
न्यायालयप्रतिको जनविश्वास र त्यसको कार्यशैलीमाथि प्रश्न उठाउँदै उनले जेनजी आन्दोलनका क्रममा अदालतमा भएको आगजनीलाई न्यायालयभित्रको विकृतिसँग जोडेर टिप्पणी गरे।
‘अदालत जस्तो अदालत नभएकै कारण जेनजी विद्रोहमा जलेको हो,’ उनले भने, ‘न्यायालयको यस्तै विकृतिका कारण जल्यो।’
न्यायालयमा देखिएका विकृतिको जिम्मेवार पुराना राजनीतिक दलहरू रहेको आरोपसमेत उनले लगाए।




प्रतिक्रिया