आनी छोइङलगायतको नियुक्तिविरुद्ध लुम्बिनीमा प्रदर्शन


बुटवल । लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्मालगायतको नियुक्तिको विरोधमा ‘लुम्बिनी बचाउ महाअभियान’ले प्रदर्शन गरेको छ। महाअभियानले विवादित नियुक्ति तत्काल बदर गर्न माग गर्दै निर्णय नसच्याए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ।

शुक्रबार पर्सा चोकबाट निकालिएको मौन विरोध जुलुस विकास कोषको कार्यालय अगाडि पुगेर कोणसभामा परिणत भएको थियो।

सभामा संयोजक अकरम खाँले विधि र प्रक्रिया मिचेर गरिएको नियुक्ति स्वीकार्य नहुने बताए। सहसंयोजक मेघनाथ आचार्यले विकास कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन खोजिएको आरोप लगाउँदै योग्य र निष्पक्ष विज्ञ नियुक्त गर्न माग गरे।

त्यस्तै, प्रवक्ता रामविकास चौधरीले नागरिकतासम्बन्धी कानुनी व्यवस्थाको स्मरण गराउँदै नियुक्तिबारे उठेका प्रश्नको निष्पक्ष छानबिन हुनुपर्ने बताए।

कार्यक्रममा भ्रष्टाचारविरोधी अभियन्ता सञ्जयकुमार मिश्रले सरकारले नियुक्ति नसच्याए लुम्बिनीबाट सुरु भएको आन्दोलन देशव्यापी बनाउने चेतावनी दिए।

आनी छोइङ डोल्मालगायतको नियुक्तिपछि महाअभियानले निरन्तर विरोध गर्दै आएको छ।