काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस काउन्सिल ऐन, २०४८ संशोधन गर्न ल्याइएको अध्यादेश रोक्न राष्ट्रपति रामचन्द्र पौडेलसँग आग्रह गरेको छ।
महासंघकी अध्यक्ष निर्मला शर्माको नेतृत्वमा गएको टोलीले शुक्रबार राष्ट्रपति पौडेललाई भेटेर अध्यादेश फिर्ता गराउन ध्यानाकर्षण गराएको हो।
महासंघले सरोकारवालासँग पर्याप्त छलफल नगरी अध्यादेशमार्फत कानुन ल्याउनु लोकतान्त्रिक विधि र संविधानको मर्मविपरीत भएको जनाएको छ। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासँग प्रत्यक्ष सरोकार राख्ने कानुन निर्माण गर्दा पत्रकार महासंघसहितका सरोकारवाला पक्षसँग छलफल गर्नुपर्ने उसको माग छ।
भेटका क्रममा पत्रकारमाथि प्रहरीले गरेको धरपकडका घटनाबारे समेत राष्ट्रपतिको ध्यानाकर्षण गराइएको थियो।
महासंघका महासचिव रामप्रसाद दाहालका अनुसार माग सम्बोधन नभए छठ पर्वपछि चरणबद्ध आन्दोलनका कार्यक्रम गरिनेछ।




प्रतिक्रिया