काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ३० रनले पराजित गरेको छ। लगातार चौथो हार बेहोरेसँगै पोखराको प्लेअफ यात्रा कठिन बनेको छ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको १५२ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभरमा १२१ रनमै अलआउट भयो।
पोखराका अर्जुन कुमालले सर्वाधिक ४५ रन बनाए। रिजन ढकालले चार तथा कमलसिंह ऐरीले तीन विकेट लिएपछि पोखरा लक्ष्यसम्म पुग्न सकेन।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनाएको थियो। उसका सिकन्दर राजाले ३७, रवि बोपाराले ३५, अर्जुन साउदले ३१ र डेभिड मलानले २८ रन बनाए।
रवि बोपाराले यसै खेलमा टी–२० क्रिकेटमा १० हजार रनसमेत पूरा गरेका छन्।
जितसँगै पाँच अंक जोडेको चितवन चार खेलबाट दुई जित, एक हार र एक रद्द नतिजासहित अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।
यता पोखराले लगातार चार खेलमा हार बेहोरेको छ। बाँकी खेल जिते पनि अधिकतम ६ अंक मात्रै जोड्न सक्ने अवस्थामा रहेको पोखराको प्लेअफ सम्भावना कमजोर बनेको छ।




प्रतिक्रिया