काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी)का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तुर्कीएको आन्ताल्यामा पुगेका छन् ।
आगामी नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने उक्त सम्मेलनको उद्घाटन सत्रलाई परराष्ट्रमन्त्री खनालले नोभेम्बर ९ मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी, उनले नोभेम्बर ११ र १२ मा आयोजना हुने नेताहरूको शिखर सम्मेलनमा समेत सहभागिता जनाउनेछन् ।
सम्मेलनका क्रममा परराष्ट्रमन्त्री खनालले नेपाल, ताजिकिस्तान, किर्गिजस्तान, भुटान र पाकिस्तानको संयुक्त आयोजनामा हुने ‘एड्भान्सिङ द माउन्टेन एजेन्डाः ग्लेसियर, क्रायोस्फियर एन्ड रिसिलियन्स अन्डर ओभरसुट, सियर्ड रेस्पोन्सिबिलिटी एन्ड सस्टेनेबल फाइनान्सिङ’ विषयक उच्चस्तरीय कार्यक्रममा पनि सहभागिता जनाउनेछन् ।
यसका अतिरिक्त परराष्ट्रमन्त्री खनालले सम्मेलनका विभिन्न उच्चस्तरीय तथा साइड इभेन्टहरूमा सहभागी हुनुका साथै समकक्षी मन्त्रीहरू र अन्य विशिष्ट व्यक्तित्वहरूसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री खनाल आगामी नोभेम्बर १४ मा स्वदेश फर्कने कार्यक्रम रहेको छ ।




प्रतिक्रिया