इटहरीमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु


सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१३ स्थित गणेश पेट्रोल पम्प नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना पुरुषको मृत्यु भएको छ।

गएराति करिब ११:५० बजे कोशी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०४–००१ ख ०००८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०२–०२५ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुवै जना पुरुष गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका हुन्।

मृतक दुवै जनाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न ट्रक र मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।