कोप–३१ मा नेपालको राष्ट्रिय पेभिलियन उद्घाटन



अन्ताल्या । टर्किएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) स्थलमा नेपालको राष्ट्रिय पेभिलियन उद्घाटन गरिएको छ ।

कोप–३१ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहनुभएका परराष्ट्रमन्त्री शिशिर खनालले  पेभिलियन उद्घाटन गरेका हुन् । 

नेपालको जलवायु महत्वाकांक्षा प्रतिबिम्बित गर्ने पेभिलियनमा जैविक विविधता संरक्षणका उपलब्धि तथा समुदायस्तरमा सञ्चालित जलवायु अनुकूलनका पहल प्रदर्शन गरिएको छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले संवेदनशील हिमाली पारिस्थितिकीय प्रणालीले सामना गरिरहेको जोखिमबारे विश्वको ध्यानाकर्षण गराए । 

उनले हिमनदी तथा हिममण्डलसँग सम्बन्धित विपद्को जोखिम बढ्दै गएको उल्लेख गर्दै हालैको भोटेकोसी विपद्लाई ‘हिमालयन सुनामी’को संज्ञा दिए । नेपालजस्ता जलवायु परिवर्तनको अग्रपङ्क्तिमा रहेका मुलुकले असमानुपातिक रूपमा बढी जोखिम वहन गर्नुपरेको उनको भनाइ थियो ।

मन्त्री खनालले जलवायु न्याय सुनिश्चित गर्न, हानि तथा नोक्सानीसम्बन्धी वित्तीय सहयोग सहज र सुलभ बनाउन तथा हिमाली क्षेत्रमा उत्थानशीलता निर्माण र तल्लो तटीय क्षेत्रको संरक्षणका लागि विश्वव्यापी सहकार्य आवश्यक रहेको बताए । उनले यस विषयमा नेपालको प्रतिबद्धता दोहोर्‍याए । 

उद्घाटन समारोहमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री नीशा मेहता, संघीय संसद्को प्रतिनिधिसभा सदस्य सागर ढकाललगायत  प्रतिनिधिले पनि सम्बोधन गरेका थिए । रासस