तरकारी आयात घट्दा राजस्व सङ्कलन पनि घट्यो


भद्रपुर । काँकडभिट्टा नाकाबाट आयात हुने ताजा तरकारी तथा कृषि उपजबाट सङ्कलित राजस्व घटेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्म उक्त वस्तुको आयातबाट सङ्लित राजस्व गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब २१ प्रतिशतले घटेको हो ।

भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको असोज मसान्तसम्म ताजा तरकारी तथा कृषि उपजको आयातबाट रु छ करोड ५१ लाख चार हजार राजस्व सङ्लन भएकामा चालु आर्थिक वर्षको सोही अवधिमा रु पाँच करोड १४ लाख नौ हजार मात्रै सङ्लन भएको छ ।

वस्तुगत रूपमा हेर्दा लसुन, मसुरो, आलु र केराउको आयातबाट सङ्कलित राजस्व घटेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्म लसुनको आयातबाट रु दुई करोड ७८ लाख १७ हजार राजस्व सङ्कलन भएकामा चालु आर्थिक वर्षको सोही अवधिमा रु दुई करोड २० लाख ८३ हजारमा सीमित भएको छ । त्यस्तै, मसुरोको आयातबाट सङ्कलित राजस्व रु एक करोड ३२ लाख ५७ हजारबाट घटेर रु २० लाख १८ हजारमा झरेको छ ।

यसैगरी भिण्डी, राजमा, गोलभेँडा र प्याजको आयातबाट सङ्कलित राजस्व भने बढेको भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । यसले सबै कृषि उपजको आयातमा समान प्रवृत्ति नरहेको स्पष्ट पारेको छ ।=

तरकारी तथा कृषि उपजको आयातबाट सङ्कलित राजस्व घट्नुमा स्वदेशी उत्पादनमा भएको वृद्धि पनि एउटा कारण हुनसक्ने देखिन्छ । स्थानीय उत्पादन बढ्दै गएमा त्यसले किसानको आम्दानी वृद्धि गर्नुका साथै भारतीय कृषि उपजमाथिको निर्भरता घटाउन र सीमावर्ती व्यापारको स्वरूपमा परिवर्तन ल्याउन सक्नेछ ।