सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका–४, सेकाहामा चट्याङ लागेर दुई जना घाइते भएका छन् ।
आज साँझ करिब ६ः३० बजे वर्षासँगै आएको हावाहुरी र चट्याङ लाग्दा घरमै बसिरहेका स्थानीय ५३ वर्षीय गणेशप्रसाद गुरुङ र मकालु गाउँपालिका–५ घर भई हाल खाँदबारी नगरपालिका–४ स्थित मामाघरमा बस्दै आएका २२ वर्षीय सबिन गुरुङ घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार चट्याङ लागेर गणेशप्रसादको निधार र दायाँ हातमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ । त्यस्तै, सबिनको बायाँ हातमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल सङ्खुवासभा, खाँदबारी ल्याइएको छ । उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको छ ।
घटनालगत्तै प्रहरी चौकी मानेभञ्ज्याङबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस




प्रतिक्रिया