ह्वाइट हाउसनजिकै भएको गोलीकाण्डमा एकजनाको मृत्यु


काठमाडौं । अमेरिकाको राजधानी वासिङ्टन डीसीको लोगन सर्कल क्षेत्रमा बिहीबार भएको गोलीकाण्डमा एकजनाको मृत्यु भएको छ ।  चारजना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

ह्वाइट हाउसबाट करिब एक माइल उत्तरमा रहेको भिडा फिटनेस सेन्टरमा गोलीकाण्ड भएको थियो । घटनामा संलग्न आक्रमणकारी चिकित्सक रहेको संघीय सुरक्षा स्रोतहरूले बताएका छन् । प्रहरीले उनीसँग फोनमा कुराकानी गरिरहेको अवस्थामा पछि आफैँलाई गोली हानेको अवस्थामा फेला पारेको जनाएको छ ।

प्रहरीका अनुसार आक्रमणकारीको अपार्टमेन्टबाट तीनवटा हतियार बरामद भएका छन् । तीमध्ये गोलीकाण्डमा प्रयोग भएको आशंका गरिएको एक पेस्तोल, एउटा राइफल र एउटा सटगन छन् । प्रहरीले ती हतियार कानुनी प्रक्रियाबाट खरिद गरिएका थिए वा थिएनन् भन्नेबारे अनुसन्धान गरिरहेको छ ।

प्रहरीले आक्रमणकारीको अपार्टमेन्ट भवनसँग सम्बन्धित कुनै विवादका कारण घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ । यसअघि पनि उनी भवनको घरधनी संघसँग विवादमा रहेको विवरण सार्वजनिक भएको थियो ।

घटनापछि प्रहरीले लोगन सर्कल क्षेत्रका सडकहरू बन्द गरी ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो । संघीय अनुसन्धान ब्युरो (एफबीआई) र अमेरिकी मदिरा, सुर्तीजन्य पदार्थ, हतियार तथा विस्फोटक नियन्त्रण ब्युरो (एटीएफ)ले पनि अनुसन्धानमा सहयोग गरेका थिए ।

गोलीकाण्ड भएको भिडा फिटनेस सेन्टर अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ । एनबीसी