२९ कात्तिक, काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सांसद चीन भ्रमणमा निस्किएका छन्। पार्टी महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल आइतबार चीन प्रस्थान गरेको हो।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा हुन लागेको ११ दिने भ्रमण टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रास्वपाका प्रवक्ता जगदीश खरेलले बिदाइ गरेका थिए।
भ्रमणका क्रममा टोलीले चीनका विभिन्न सहरको अवलोकन गर्नेछ। प्रतिनिधिमण्डलले बेइजिङ, हाङचोउ र सिचुवानलगायत स्थानमा पुगेर राजनीतिक, आर्थिक, प्राविधिक तथा विकासका क्षेत्रमा चीनले हासिल गरेका उपलब्धिबारे अध्ययन गर्ने कार्यक्रम छ।
भ्रमण टोलीका सदस्य तथा रास्वपाको विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभागका प्रमुख डा. आनन्द चन्दले चीनले नवप्रवर्तन र प्रविधिको क्षेत्रमा गरेको विकासलाई नेपालको आवश्यकताअनुसार उपयोग गर्ने सम्भावनाबारे अध्ययन गरिने बताए।
उनका अनुसार कृत्रिम बुद्धिमत्ता, मेसिन लर्निङ, डिजिटल प्रविधि, नवप्रवर्तन र औद्योगिक विकासका क्षेत्रमा चीनले हासिल गरेका उपलब्धि, अपनाएका नीति तथा संस्थागत अभ्यासबारे टोलीले जानकारी लिनेछ।
‘प्रविधि र अनुभवलाई नेपालको आवश्यकता तथा क्षमताअनुसार कृषि आधुनिकीकरण, स्वास्थ्य सेवा, शिक्षा, सार्वजनिक सेवा प्रवाह, औद्योगिक उत्पादन र उद्यमशीलता विकासमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा अध्ययन तथा विचार आदानप्रदान गर्ने अपेक्षा राखेको छु,’ चन्दले भने।
त्यस्तै, टोलीका सदस्य डा. धनञ्जय रेग्मीले भ्रमणले नेपाल र चीनबीच आपसी समझदारी तथा आत्मीय सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनका अनुसार भ्रमणबाट आर्थिक, प्राविधिक र विकासका क्षेत्रमा दीर्घकालीन सहकार्यको आधार तयार हुन सक्नेछ।
रेग्मीले भ्रमणले दुई देशबीचको राजनीतिक सम्बन्ध सुदृढीकरण तथा आगामी उच्चस्तरीय भ्रमणको तयारीमा समेत सहयोग पुग्ने अपेक्षा व्यक्त गरे।
चीन भ्रमणमा जाने टोलीमा महामन्त्री आचार्यसहित सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी तथा सांसदहरू लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा. आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा छन्।
चीन प्रस्थान गर्नुअघि प्रतिनिधिमण्डलले प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेसँग छुट्टाछुट्टै भेटघाट गरेको थियो।




प्रतिक्रिया