एनपीएलमा विद्यार्थीको प्लेकार्ड प्रदर्शन, बाढीपहिरोपीडितका पक्षमा उठ्यो आवाज


काठमाडौं । क्रिकेटको रोमाञ्चक प्रतिस्पर्धाबीच नेपाल प्रिमियर लिग (एनपीएल) को मैदानबाट जलवायु न्यायको आवाज उठेको छ। सनिबार लुम्बिनी लायन्स र विराटनगर किङ्सबीचको खेलका क्रममा विद्यार्थीहरूले ‘CLIMATE JUSTICE’ लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै जलवायु संकटप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेल हेर्न पुगेका विद्यार्थीहरूले दर्शकदीर्घाबाट प्लेकार्ड प्रदर्शन गरेका थिए। खेलको माहोलबीच गरिएको यो प्रदर्शनले खेलकुदको मञ्चलाई सामाजिक तथा वातावरणीय मुद्दा उठाउने माध्यमसमेत बनाएको छ।

प्रदर्शनमार्फत विद्यार्थीहरूले जलवायु परिवर्तनका कारण बाढीपहिरोलगायत विपद् बढ्दै गएको र त्यसको मारमा सर्वसाधारण नागरिक परिरहेको विषय उठाएका छन्। विशेषगरी त्रिशूलीलगायत देशका विभिन्न क्षेत्रमा बाढीपहिरोले पुर्‍याएको क्षति र प्रभावित नागरिकको पीडालाई स्मरण गराउँदै उनीहरूले जलवायु संकटबारे भाषण मात्र नभई जिम्मेवार निकायबाट ठोस कदम आवश्यक रहेको सन्देश दिएका छन्।

जलवायु न्यायको माग नेपालमा मात्र सीमित छैन। जलवायु परिवर्तनबाट बढी प्रभावित तर उत्सर्जनमा तुलनात्मक रूपमा कम जिम्मेवार मुलुकहरूले क्षतिपूर्ति र पर्याप्त जलवायु वित्त पाउनुपर्ने आवाज अन्तर्राष्ट्रिय मञ्चमा पनि उठिरहेको छ।

टर्किएमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–३१ मा समेत नागरिक समाजका प्रतिनिधिहरूले जलवायु संकटबाट प्रभावित देशको ऋण मिनाहा गर्न र अनुकूलन तथा पुनरुत्थानका लागि अनुदान उपलब्ध गराउन माग गरेका छन्। उनीहरूले जलवायु वित्त ऋणका रूपमा नभई प्रदूषणका लागि जिम्मेवार पक्षबाट अनुदानका रूपमा आउनुपर्नेमा जोड दिएका छन्।

यस्तो पृष्ठभूमिमा एनपीएलको दर्शकदीर्घाबाट उठेको विद्यार्थीहरूको आवाजले जलवायु संकटलाई खेलकुद र मनोरञ्जनको क्षेत्रसँग पनि जोडेको छ। उनीहरूको प्रदर्शनले जलवायु परिवर्तन केवल वातावरणीय विषय नभई नागरिकको जीवन, जीविकोपार्जन र भविष्यसँग जोडिएको सवाल भएको सन्देश दिएको छ।

उक्त खेलमा लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई चार विकेटले पराजित गरेको थियो।