काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रहेको टोली आइतबार बिहान चीन गएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टोलीलाई रास्वपाका प्रवक्ता जगदीश खरेलले बिदाइ गरेका थिए।
चीन भ्रमणका क्रममा रास्वपा र सीपीसीबीच सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि र राजनीतिक नेतृत्वका विषयमा अनुभव आदानप्रदान हुने महामन्त्री आचार्यले बताएका छन्।
उनका अनुसार सत्तारूढ दलको प्रतिनिधिमण्डल भएकाले भ्रमणका क्रममा राज्यको हितलाई प्राथमिकतामा राख्न प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेले सुझाव दिएका छन्।
‘सत्तारूढ दलको डेलिगेसन भएकाले प्रधानमन्त्रीले राज्यले जे सोच्छ, त्यसमा ख्याल गर्नुहोला भन्नुभएको हो। भ्रमणको विषयमा प्रधानमन्त्री र पार्टी सभापतिको समान खालको चासो र सुझाव आएका छन्,’ आचार्यले भने।
भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा राष्ट्रपति सी जिनपिङसँग भने भेटघाटको कार्यक्रम नरहेको आचार्यले स्पष्ट पारे। यद्यपि बेइजिङमा सीपीसीका दोस्रो तहका नेताहरूसँग छलफल हुन सक्ने उनले बताए।
आचार्यका अनुसार छलफलमा प्रविधि, कनेक्टिभिटी र सीमापार सहकार्यका विषयलाई प्राथमिकता दिइनेछ। नेपाल र चीनबीच राजनीतिक संवाद, आपसी समझदारी तथा विकास सहकार्य विस्तार गर्ने अवसरका रूपमा भ्रमणलाई लिइएको उनको भनाइ छ।
प्रतिनिधिमण्डल आइतबार चीनको सिचुवान प्रान्तस्थित चेङ्दु पुग्नेछ। भ्रमणको पहिलो चरणमा कात्तिक ३० गते सिचुवानस्थित ‘हाइटेक इन्टरप्राइजेज एन्ड इन्डस्ट्रियल पार्क’ को अवलोकन गर्ने र सीपीसीको पार्टी स्कुलका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम छ। उक्त कार्यक्रममा आचार्यले रास्वपाका तर्फबाट धारणा राख्नेछन्।
मंसिर १ गते टोलीले सन् २००८ को विनाशकारी भूकम्पबाट प्रभावित वेनचुआन क्षेत्रको भ्रमण गरी पुनर्निर्माणको अवस्थाबारे अध्ययन गर्नेछ। उक्त भूकम्पमा करिब ९० हजार मानिसले ज्यान गुमाएका थिए।
मंसिर २ गते सिचुवान विश्वविद्यालयमा विपद् प्रतिकार्य व्यवस्थापनसम्बन्धी अन्तरक्रियामा सहभागी हुने टोलीको कार्यक्रम छ। त्यसपछि झेजियाङ प्रान्तमा विभिन्न औद्योगिक तथा प्राविधिक क्षेत्रको अवलोकन गर्नेछ।
मंसिर ६ गते झेजियाङ विश्वविद्यालयमा ‘थिङ्क ट्याङ्क’ विकाससम्बन्धी अभ्यासबारे जानकारी लिने र मंसिर ७ गते चीन–नेपाल ‘इन्टरप्राइजेज म्याचमेकिङ कन्फ्रेन्स’ मा सहभागी हुने कार्यक्रम छ।
त्यसपछि टोली बेइजिङ प्रस्थान गर्नेछ। त्यहाँ सीपीसीका उच्च तहका नेताहरूसँग भेटघाट तथा पार्टीका विज्ञहरूसँग छलफल हुनेछ। मंसिर १० गते ११ दिने भ्रमण सम्पन्न गरी प्रतिनिधिमण्डल स्वदेश फर्कनेछ।




प्रतिक्रिया