विश्वभाषा क्याम्पसमा तीन पदका लागि दरखास्त आह्वान


काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत विश्वभाषा क्याम्पसले तीन प्रशासनिक पदमा नियुक्तिका लागि आवेदन खुलाएको छ ।

मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत रहेको काठमाडौंको प्रदर्शनीमार्गस्थित क्याम्पसले दुई जना सहायक क्याम्पस प्रमुख र एक जना विद्यार्थी कल्याण प्रमुख नियुक्त गर्न दरखास्त आह्वान गरेको हो ।

क्याम्पस प्रशासनका अनुसार ‘विश्वविद्यालय सावधिक पदमा नियुक्तिका आधार र मापदण्ड सम्बन्धी कार्यविधि, २०८१’ को विनियम ४४ को उपविनियम १ बमोजिम योग्यता पुगेका शिक्षकहरूले आवेदन दिन सक्नेछन् ।

यसका लागि विश्वभाषा क्याम्पसमा कार्यरत शिक्षकसँगै त्रिभुवन विश्वविद्यालयका अन्य आंगिक क्याम्पसमा अध्यापनरत इच्छुक शिक्षकहरू पनि प्रतिस्पर्धामा सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।

इच्छुक तथा योग्यता पुगेका प्राध्यापक र शिक्षकहरूले आगामी २०८१ मंसिर १० गतेभित्र क्याम्पसमा आवेदन पेस गर्नुपर्नेछ ।

आवेदनसँगै कार्यविधिको विनियम ४४ को उपविनियम २ मा उल्लेख गरिएका आवश्यक कागजातसमेत अनिवार्य रूपमा बुझाउनुपर्ने क्याम्पस प्रशासनले जनाएको छ ।