टाइगरमाथि गोली प्रहारपछि बलिउडका दुई शीर्ष अभिनेतालाई ‘वाई-प्लस’ सुरक्षा


मुम्बई । अभिनेता टाइगर श्राफमाथि अक्टोबर १८ मा भएको गोली प्रहार र लरेन्स बिश्नोई समूहको निरन्तर धम्कीपछि मुम्बई प्रहरीले बलिउडका कम्तीमा दुई शीर्ष (ए-लिस्टर) कलाकारको सुरक्षा व्यवस्थालाई ‘वाई-प्लस’ श्रेणीमा स्तरोन्नति गरेको छ। अन्य कलाकारहरूको सुरक्षामा समेत व्यापक कडाइ गरिएको छ।

अधिकारीहरूका अनुसार बलिउडकर्मीहरूको समग्र सुरक्षा समीक्षाअन्तर्गत यो कदम चालिएको हो। यस प्रक्रियामा पहिलेदेखि नै सुरक्षा पाइरहेका व्यक्तिहरूको जोखिम स्तर पुनः जाँचिनुका साथै नयाँ सुरक्षा आवश्यक पर्नेहरूको पहिचान भइरहेको छ।

सुरक्षा व्यवस्थाअन्तर्गत सुरक्षाकर्मीको सङ्ख्या बढाउने, श्रेणी परिवर्तन नगरी थप जनशक्ति खटाउने र आवतजावत गर्ने मार्गको सूक्ष्म निगरानी गर्नेसम्मका प्रबन्धहरू मिलाइएका छन्। बिश्नोई समूहको निशानामा परेका कलाकारका पारिवारिक सदस्य र निकट सहयोगीहरूलाई समेत सुरक्षा घेरामा समेटिएको छ। 

गत अक्टोबर १८ को साँझ जुहूस्थित पुष्पा पार्कनजिकैको फुटबल मैदानबाट गाडीमा निस्कने क्रममा श्राफमाथि आक्रमण भएको थियो। मोटरसाइकलमा आएका तीन जनाले अभिनेताको गाडीमा कम्तीमा तीन राउन्ड गोली चलाएका थिए। 

घटनामा श्राफ सकुशल रहे पनि उनका चालक र अर्का एक अटो रिक्सा चालक घाइते भएका थिए। उक्त आक्रमणको जिम्मेवारी विदेशमा रहेका लरेन्स बिश्नोई समूहका दुई सदस्यले अडियो सन्देशमार्फत लिँदै अभिनेता सलमान खानसँग काम नगर्न श्राफलाई चेतावनी दिएका थिए।

यसअघि पनि यसै समूहको संलग्नता यसै वर्षको फेब्रुअरीमा फिल्म निर्माता रोहित शेट्टीको जुहूस्थित निवासमा भएको गोलीबारी, अप्रिल २०२४ मा सलमान खानको बान्द्रास्थित निवास बाहिरको आक्रमण तथा सोही वर्ष अक्टोबरमा पूर्व विधायक बाबा सिद्दिकीको हत्यामा देखिएको थियो। 

प्रहरी स्रोतका अनुसार नयाँ समीक्षाअन्तर्गत एक शीर्ष अभिनेताको सुरक्षा ‘एक्स’ श्रेणीबाट ‘वाई-प्लस’ र अर्का अभिनेताको ‘वाई’ बाट ‘वाई-प्लस’ बनाइएको छ। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै ती कलाकारहरूको नाम र सुरक्षा प्रबन्धको विस्तृत विवरण भने गोप्य राखिएको छ।

‘द इन्डियन एक्सप्रेस’ ले सम्पर्क गर्दा मुम्बई प्रहरीका एक वरिष्ठ अधिकारीले सुरक्षा प्रबन्धबारे विस्तृत रूपमा बताउन अस्वीकार गरे। उनले प्रहरीले समय-समयमा सुरक्षा समीक्षा गर्ने र जोखिममा रहेका व्यक्तिहरूसँग निरन्तर संवादमा रहने जानकारी दिए। 

ती अधिकारीले भने, ‘कतिपय अवस्थामा कुनै निश्चित स्थानमा जोखिमको मात्रा उच्च देखिन्छ र त्यस्तो ठाउँमा थप जनशक्ति खटाइन्छ। समग्र श्रेणी नै बढाउँदा कलाकार जहाँ गए पनि उत्तिकै सङ्ख्यामा सुरक्षाकर्मी साथमै खटाउनुपर्ने हुन्छ, जसको आवश्यकता सबै अवस्थामा नपर्न सक्छ। त्यसैले परिस्थितिअनुसार श्रेणी परिवर्तन गर्ने वा थप सुरक्षा मात्र उपलब्ध गराउने निर्णय गरिन्छ।’

केही शीर्ष कलाकारहरू प्रशंसकहरूसँग प्रत्यक्ष भेटघाटमा सहभागी हुँदा उनीहरूको सुरक्षा ‘जेड’ श्रेणीसरह पुर्या’इने गरेको छ। त्यस्ता अवसरहरूमा बर्दीधारी र सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरिन्छ। यस्तै सावधानी निवासबाट बाहिर निस्कँदा र अन्य सार्वजनिक कार्यक्रमहरूमा पनि अपनाइएको छ। 

श्राफसहित अन्य कलाकारहरूको निवासमा समेत सुरक्षा बढाइएको छ। एक जना अभिनेताको घरमा गोली नछिर्ने (बुलेटप्रुफ) संरचना नै जडान गरिएको छ। मुम्बईबाहिर यात्रा गर्ने योजना बनाएका कलाकारहरूलाई आफ्नो यात्रा मार्ग पूर्वजानकारी गराउन र गन्तव्यस्थलको सुरक्षा जाँच पहिल्यै गर्न निर्देशन दिइएको छ। सम्बन्धित क्षेत्रका स्थानीय प्रहरी चौकीलाई पनि कलाकार आफ्नो इलाकाबाट बाहिर ननिस्किएसम्म आवश्यक सुरक्षा प्रदान गर्न सचेत गराइएको छ। 

हाल जारी रहेको सुरक्षा समीक्षाले प्रत्यक्ष धम्की पाएका कलाकारलाई मात्र नभई जोखिममा रहेका कलाकारका निकट सहयोगीहरूलाई समेत समेटेको छ। अधिकारीहरूका अनुसार अन्तिम समीक्षा प्रतिवेदनका आधारमा आगामी दिनमा सुरक्षा प्रबन्धमा थप परिमार्जन हुन सक्नेछ। एजेन्सी