तुलसीपुर (दाङ), ३० कात्तिक । विपन्न नागरिकको उपचारमा आर्थिक सहायता जुटाउने उद्देश्यले तुलसीपुर उपमहानगरपालिका वडा नं १८ ले श्रीमद्भागवत जीवन विज्ञान महायज्ञ आयोजना गर्ने भएको छ ।
दीर्घरोगीसहित अन्य बिरामीलाई आर्थिक सहयोगका लागि महायज्ञ आयोजना गर्न लागिएको वडाध्यक्ष माधव वलीले बताए ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले आर्थिक अभावकै कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थाका नागरिकलाई सहयोग गर्न महायज्ञ आयोजना गरिएको जानकारी दिए।
महायज्ञबाट सङ्कलित रकम कोषमा जम्मा गरिने वडाध्यक्ष वलीले बताए । कोषको रकमलाई वडाको सिफारिस समिति र कोष परिचालन समितिले पारित गरेपछि भुक्तानी गरिनेछ ।
उपमहानगरपालिकाले सोसम्बन्धी कार्यविधि तयार पारेको छ । उनका अनुसार आगामी मङ्सिर ६ देखि १५ गतेसम्म महायज्ञ सञ्चालन हुनेछ । महायज्ञबाट करिब रु एक करोड आर्थिक सङ्कलन गर्ने लक्ष्य राखिएको छ । महायज्ञको मुख्य वाचकका रूपमा पण्डित अमृतशरण देवाचार्य रहनेछन् ।




प्रतिक्रिया