नवलपरासी बस दुर्घटना अपडेट:  घाइतेको सङ्ख्या ३३ पुग्यो (सूची)


नवलपरासी (बर्दघाट सुस्ता पूर्व) । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–११ लोकाहामा यात्रुवाहक बस दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् ।

धनगढीबाट काठमाडौं आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस सोमबार बिहान करिब ६ः४० बजे अनियन्त्रित भएर सडकमा पल्टिएको हो ।

चालकले नियन्त्रण गुमाउँदा भएको दुर्घटनामा बसमा सवार ४१ जनामध्ये ३३ जना घाइते भएको प्रहरीले जनाएको छ । सुरुमा २५ जना घाइते भएको जानकारी आए पनि पछिल्लो विवरणअनुसार घाइतेको सङ्ख्या ३३ पुगेको हो । घाइते सबैको पहिचान खुलेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ । एक जनालाई भरतपुरस्थित पुरानो मेडिकल कलेज र ३२ जनालाई मध्यविन्दु प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको छ ।