जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सङ्घीयतालाई थप बलियो र प्रभावकारी बनाउन राष्ट्रियस्तरमा व्यापक छलफल तथा साझा सहमति आवश्यक रहेको बताएका छन् ।
रास्वपा नेता तथा प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले आजदेखि सुरु गरेको मेची–महाकाली पदयात्राको शुभारम्भ गर्दै लामिछानेले सङ्घीय संरचनालाई व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री बनाउन पार्टीले राष्ट्रिय बहस अघि बढाउने तयारी गरिरहेको बताए ।
उनले सङ्घीयताको मर्मअनुसार प्रदेश संरचनालाई थप व्यवस्थित बनाउँदै सङ्घ, प्रदेश र स्थानीय तह गरी तीनै तहका सरकारलाई अधिकारसम्पन्न र जिम्मेवार बनाउनुपर्नेमा जोड दिए ।
सङ्घीयता कुनै एउटा राजनीतिक दलको मात्र विषय नभई मुलुकको शासन व्यवस्था र नागरिकको अधिकारसँग जोडिएको विषय भएको उल्लेख गर्दै उनले यसमा सबै राजनीतिक दलबीच साझा समझदारी हुनुपर्ने बताए ।
“सङ्घीयतालाई बलियो बनाउन र प्रदेश संरचनालाई व्यवस्थित गर्न हाम्रो पार्टीले छलफल चलाइरहेको छ,” लामिछानेले भने, “सबै राजनीतिक दलसँग सहकार्य गरी सहमतिका आधारमा सङ्घीयतालाई बलियो बनाउने सुधारका काम अघि बढाउँछौँ ।”




प्रतिक्रिया