काठमाडौं । छठ पर्वको अवसर पारेर मधेस प्रदेश पुगेका स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमला राजनीतिक भेटघाटमा सक्रिय देखिएका छन् । एकै दिन उनले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेदेखि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापासम्मसँग भेटवार्ता गरेका छन् ।
धमलाले साेमबार बिहान जनकपुरधाममा रास्वपा सभापति लामिछानेसँग भेट गरे भने दिउँसो वीरगन्ज पुगेर कांग्रेस सभापति थापासँग संवाद गरे । फरक राजनीतिक धार र भूमिकामा रहेका दुई दलका शीर्ष नेतासँग एकै दिन भएको उनको भेटलाई सामान्य शिष्टाचारभन्दा पनि राजनीतिक संवाद र सहकार्यको सन्देशका रूपमा हेरिएको छ ।
लामिछानेसँगको भेटमा पुराना राजनीतिक प्रसङ्गदेखि देशको नेतृत्व र विकासका विषयमा कुराकानी भएको थियो । सो क्रममा धमलाले लामिछानेलाई बालेन शाहपछि देशको नेतृत्व गर्न र प्रधानमन्त्री बन्न सुझाव दिएका थिए । जवाफमा लामिछानेले ‘प्रधानमन्त्री उत्पादन गर्दै जाउँला नि’ भन्दै आफूभन्दा पनि नेतृत्व निर्माण र राजनीतिक भविष्यको विषयलाई जोड दिएका थिए ।
जनकपुरको भेटपछि धमला वीरगन्ज पुगे । त्यहाँ कांग्रेस सभापति थापासँग भएको भेटमा भने स्थानीय निर्वाचन, मधेसको विकास र राजनीतिक दलहरूबीचको सहकार्यका विषयले प्राथमिकता पाए ।
धमलाले आगामी स्थानीय तहको निर्वाचनमा दलीयभन्दा गैरदलीय उम्मेदवारलाई प्राथमिकता दिनुपर्ने धारणा राखे । मधेस प्रदेशलाई समुन्नत, सभ्य र समृद्ध बनाउन राजनीतिक दलहरूबीच प्रतिस्पर्धा मात्रै होइन, सहकार्य पनि आवश्यक रहेको उनको भनाइ थियो ।
सरकारको विरोधमा मात्रै केन्द्रित नभई देश विकासका साझा मुद्दामा दलहरू एक ठाउँमा उभिनुपर्ने धारणा पनि उनले राखे । समग्र मधेसको विकासका लागि स्पष्ट योजना बनाएर सबै पक्ष मिलेर अघि बढ्नुपर्नेमा धमलाले जोड दिएका थिए ।
वीरगन्जको भेटमा मानवीय संवेदनासँग जोडिएको विषय पनि उठ्यो । केही दिनअघि मकवानपुरको भीमफेदीमा भएको हायस दुर्घटनामा सर्लाहीका एकै परिवारका सात जनासहित १४ जनाले ज्यान गुमाएको घटनापछि अभिभावकविहीन र अलपत्र अवस्थामा रहेका बालबालिकाको शिक्षाको जिम्मेवारी लिनुपर्ने प्रस्ताव धमलाले थापासमक्ष राखे । ती बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउने उनको प्रस्तावप्रति थापाले सकारात्मक प्रतिक्रिया दिएको बताइएको छ ।
एकै दिन सत्तारुढ दलका सभापति र प्रमुख प्रतिपक्षी दलका सभापतिसँग भएको धमलाको भेटले उनको मधेस भ्रमणलाई थप चासाे बढाएकाे छ । एउटा भेटमा नेतृत्व र राष्ट्रिय राजनीतिका विषय उठे भने अर्को भेटमा स्थानीय निर्वाचन, विकास र विपद्बाट प्रभावित बालबालिकाको भविष्यबारे छलफल भयो ।
धमलाले दुवै भेटमार्फत राजनीतिक दलहरूबीच संवाद, सहकार्य र साझा राष्ट्रिय मुद्दामा एकजुट हुनुपर्ने सन्देश दिएका छन् ।




प्रतिक्रिया