१ मंसिर, काठमाडौं । राष्ट्रिय कर दिवसको अवसर पारेर सरकारले विभिन्न १९ विधामा उत्कृष्ट योगदान पुर्याउने करदातालाई सम्मान गरेको छ । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उत्कृष्ट करदातालाई सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् ।
यस वर्ष भाटभटेनी सुपरमार्केटले विशेष सम्मान प्राप्त गरेको छ । कठिन परिस्थितिका बाबजुद व्यवसायलाई निरन्तरता दिएको, राजस्वमा योगदान पुर्याएको र रोजगारी संरक्षण तथा सिर्जनामा महत्वपूर्ण भूमिका खेलेको भन्दै सरकारले भाटभटेनीलाई सम्मान गरेको हो ।
गत २३ र २४ भदौ २०८२ मा भएको जेनजी आन्दोलनका क्रममा भाटभटेनीका १२ वटा स्टोरमा आगजनी, लुटपाट र तोडफोड भएको थियो । उक्त घटनाबाट कम्पनीले अर्बौं रुपैयाँ बराबरको क्षति व्यहोर्नुपरेको थियो । यति ठूलो क्षति हुँदासमेत कम्पनीले कुनै पनि कर्मचारीलाई रोजगारीबाट नहटाई पुनः लगानीमार्फत अधिकांश स्टोर सञ्चालनमा ल्याएको जनाएको छ ।
यसैगरी, व्यक्तिगत आयतर्फ सबैभन्दा बढी आयकर बुझाउने करदाताका रूपमा राजबहादुर शाह सम्मानित भएका छन् । संस्थागततर्फ सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको सम्मान सूर्य नेपाल प्रालिले प्राप्त गरेको छ ।
सरकारले प्रत्येक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै आएको छ ।




प्रतिक्रिया