राष्ट्र बैंकले सरकारलाई ४२ अर्ब दिने


काठमाडौं, १ मंसिर । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा ८३ अर्ब ५६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३.८४ प्रतिशत बढी हो । अघिल्लो वर्ष केन्द्रीय बैंकको खुद नाफा ८० अर्ब ४८ करोड रुपैयाँ रहेको थियो ।

विदेशी विनिमय सञ्चितिमा भएको उल्लेख्य वृद्धिसँगै त्यसबाट प्राप्त ब्याज आम्दानी बढेपछि राष्ट्र बैंकको नाफामा सुधार आएको हो । रेमिट्यान्स आप्रवाह र आयातमा भएको वृद्धिका कारण विदेशी मुद्रा सञ्चिति निरन्तर बढ्दै गएको छ ।

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष विदेशी मुद्राबाट १ खर्ब १६ अर्ब ६२ करोड रुपैयाँ खुद ब्याज आम्दानी भएको छ । यो अघिल्लो वर्षको ९४ अर्ब ८१ करोड रुपैयाँको तुलनामा २३ प्रतिशत बढी हो ।

विदेशी विनिमय सञ्चितिमा आएको वृद्धिले ब्याज आम्दानी बढाउन मुख्य भूमिका खेलेको देखिन्छ । २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको विदेशी विनिमय सञ्चिति ४५.६ प्रतिशतले बढेर २०८३ असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ ।

यद्यपि, वित्तीय प्रणालीमा अधिक तरलता कायम रहँदा स्वदेशी मुद्राबाट हुने ब्याज आम्दानी भने कमजोर बनेको छ । गत आर्थिक वर्ष स्वदेशी मुद्रामा खुद ब्याज आम्दानी २२ अर्ब रुपैयाँले ऋणात्मक रहेको छ । अघिल्लो वर्ष यस्तो नोक्सानी ७ अर्ब ७६ करोड रुपैयाँ थियो ।

यसैगरी, सुनचाँदीको मूल्यमा आएको परिवर्तनबाट राष्ट्र बैंकले ७१ अर्ब ७१ करोड रुपैयाँ लाभ प्राप्त गरेको छ । विदेशी विनिमय दरमा भएको उतारचढावका कारण २ खर्ब ५४ अर्ब ८३ करोड रुपैयाँ बराबरको लाभ देखिएको बैंकले जनाएको छ ।

सरकारलाई ४२ अर्ब रुपैयाँ हस्तान्तरण गरिने

राष्ट्र बैंकले गत आर्थिक वर्षको खुद नाफाबाट विभिन्न वैधानिक सञ्चिति तथा कोषमा रकम छुट्याएपछि बाँकी रहेको ४२ अर्ब रुपैयाँ सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ ।

मौद्रिक सञ्चिति दायित्व, वित्तीय स्थायित्व दायित्व सञ्चिति, खुला बजार स्थिरीकरण कोष, बैंकिङ विकास कोष तथा सुन प्रतिस्थापन कोषलगायतमा आवश्यक रकम छुट्याएपछि उक्त रकम सरकारलाई हस्तान्तरण गर्न लागिएको हो ।

सोमबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले सरकारलाई ४२ अर्ब रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । अघिल्लो आर्थिक वर्षमा पनि राष्ट्र बैंकले सरकारलाई ४२ अर्ब रुपैयाँ नै हस्तान्तरण गरेको थियो ।

मुद्रास्फीति घट्यो, आयात र निर्यात दुवै बढे

राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ३.०८ प्रतिशत कायम भएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यस्तो दर ४.०६ प्रतिशत थियो ।

यस अवधिमा कुल वस्तु निर्यात १३.८ प्रतिशतले वृद्धि भई ३ खर्ब १५ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, वस्तु आयात १६.२ प्रतिशतले बढेर २० खर्ब ९६ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ ।

आर्थिक वर्षको अन्त्यसम्म चालु खाता ९ खर्ब २३ अर्ब ५६ करोड रुपैयाँ र शोधनान्तर स्थिति १० खर्ब २७ अर्ब ४ करोड रुपैयाँ बचतमा रहेको छ ।

विदेशी विनिमय सञ्चितिले २३ महिनाको वस्तु आयात तथा १९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

सरकारी राजस्वभन्दा खर्च बढी

गत आर्थिक वर्ष नेपाल सरकारले अन्य प्राप्तिसमेत गरी १२ खर्ब ४१ अर्ब ३२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । सोही अवधिमा सरकारको कुल खर्च भने १५ खर्ब ८२ अर्ब १७ करोड रुपैयाँ पुगेको छ ।

यस अवधिमा विस्तृत मुद्राप्रदाय १३.४ प्रतिशत र संकुचित मुद्राप्रदाय १७.९ प्रतिशतले बढेको छ । कुल आन्तरिक कर्जा २.१ प्रतिशत तथा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ६.६ प्रतिशतले वृद्धि भएको छ ।

कर्जा र निक्षेप सुरक्षणमा वृद्धि

निक्षेप तथा कर्जा सुरक्षण कोषले २०८३ असार मसान्तसम्म ३ खर्ब ६९ अर्ब ५५ करोड रुपैयाँ बराबरको कर्जा र १८ खर्ब ५७ अर्ब १७ करोड रुपैयाँ बराबरको निक्षेप सुरक्षण गरेको छ ।

कर्जा सूचना केन्द्रमा उक्त अवधिसम्म कालोसूचीमा सूचीकृत ऋणीको संख्या १ लाख ७० हजार ७ सय ९३ पुगेको छ ।

गत आर्थिक वर्ष २० वाणिज्य बैंक, एक पूर्वाधार विकास बैंक, १७ विकास बैंक, १६ वित्त कम्पनी, ५० लघुवित्त वित्तीय संस्था र १० हायर पर्चेज कम्पनीले गरी ६७ लाख ४ हजार ३ सय ५० पटक कर्जासम्बन्धी सूचना माग गरेका थिए ।

विदेशी मुद्रा सञ्चिति २३ अर्ब डलरभन्दा बढी

२०८३ असार मसान्तसम्म राष्ट्र बैंकको विदेशी विनिमय सञ्चिति लगानी अमेरिकी डलरमा २३ अर्ब १३ करोड पुगेको छ ।

केन्द्रीय बैंकले विदेशी विनिमय सञ्चितिलाई विभिन्न बैंकमा आवधिक निक्षेप, सुन, केन्द्रीय बैंकबाट जारी हुने ट्रेजरी बिल्स, नोट्स तथा बन्ड्स र बैंक फर इन्टरनेसनल सेटलमेन्ट्सबाट जारी हुने वित्तीय उपकरणमा लगानी गरेको जनाएको छ ।

यसैगरी, गत आर्थिक वर्ष ४६ अर्ब १० करोड १५ लाख रुपैयाँ बराबरका विभिन्न दरका ८ करोड ४२ लाख ५० हजार थान नयाँ नोट चलनचल्तीका लागि निष्कासन गरिएको थियो । २०८३ असार मसान्तसम्म बजारमा कुल ८ खर्ब ७ अर्ब ६९ करोड रुपैयाँ बराबरका नोट चलनचल्तीमा रहेका छन् ।

राष्ट्र बैंकको वित्तीय विवरणअनुसार २०८३ असार मसान्तमा बैंकको कुल सम्पत्ति तथा दायित्व ४५.०६ प्रतिशतले वृद्धि भएको छ । उक्त अवधिमा कुल सम्पत्ति तथा दायित्व ३८ खर्ब ७४ अर्ब ८२ करोड १० लाख ३७ हजार रुपैयाँ पुगेको केन्द्रीय बैंकले जनाएको छ ।

विदेशी विनिमय तथा अन्य सम्पत्तिको पुनर्मूल्यांकन लाभ–हानि समायोजनअघिको खुद आय पनि अघिल्लो वर्षको तुलनामा ३.८४ प्रतिशतले वृद्धि भई ८३ अर्ब ५६ करोड ९४ लाख ७६ हजार रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।