सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी लगातार दोस्रो पटक एनपीएलको फाइनलमा


काठमाडौं । सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायरमा जित निकाल्दै लुम्बिनीले लगातार दोस्रो पटक उपाधि भिडन्तमा स्थान सुरक्षित गरेको हो ।

सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६.४ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीको जितमा निरोसन डिकवेल्लाले उत्कृष्ट ब्याटिङ गर्दै सर्वाधिक ५९ रन बनाए । उनले ३७ बलको सामना गर्दै सात चौका र दुई छक्का प्रहार गरे ।

कप्तान रोहित पौडेलले २१ रनको योगदान दिए । उनले डिकवेल्लासँग तेस्रो विकेटका लागि ३८ रनको साझेदारी गरेका थिए । रोहित २८ बलमा एक चौका प्रहार गर्दै थरिन्दु रत्नायकेको बलमा अनिल खरेलबाट क्याच आउट भए । दिलीप नाथ १० रनमा अविजित रहे ।

लुम्बिनीका ओपनर डार्सी सर्ट खाता नखोल्दै स्कट कुग्लेजिनको बलमा बोल्ड भए भने आशिफ शेख चार रनमा आउट भए ।

सुदूरपश्चिमका लागि थरिन्दु रत्नायकेले दुई विकेट लिए । स्कट कुग्लेजिन र हेमन्त धामीले समान एक विकेट हात पारे ।

दीपेन्द्रको अर्धशतकले जोगायो सुदूरपश्चिमको इनिङ्स

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १०५ रन बनाएको थियो ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५२ रन बनाए । उनले ५१ बलमा तीन चौका र एक छक्का प्रहार गरे । इशान पाण्डेले २७ रन जोड्दै कप्तानसँग चौथो विकेटका लागि ६४ रनको साझेदारी गरेका थिए ।

तर, सुरुवातमै कमजोर बनेको सुदूरपश्चिमको इनिङ्स सम्हालिन सकेन । टोलीले ३.१ ओभरमा आठ रन जोड्दा तीन महत्वपूर्ण विकेट गुमाइसकेको थियो ।

इशान १४.१ ओभरमा २७ रन बनाएर रनआउट भए । दीपेन्द्र र इशानबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

ओपनर जर्ज मुन्से पहिलो बलमै आउट भए । आरिफ शेख चार रनमा पेभेलियन फर्किए भने विनोद भण्डारी र थनुका दबारेले समान तीन रन बनाए । थरिन्दु रत्नायके एक रनमा शेर मल्लको बलमा बोल्ड भए ।

लुम्बिनीका बलरमध्ये रुवेन ट्रम्पलमेनले दुई विकेट लिए । उनले चार ओभरमा १४ रन मात्रै खर्चिए । शेर मल्लले २७ रन दिएर दुई विकेट हात पारे । अविशेष गौतमले चार ओभरमा ११ रन खर्चेर एक विकेट लिए भने किशोर महतोले पनि एक विकेट आफ्नो नाममा गरे ।

सुदूरपश्चिमलाई फाइनल पुग्ने अर्को अवसर

पहिलो क्वालिफायरमा पराजित भए पनि सुदूरपश्चिमको फाइनल पुग्ने सम्भावना समाप्त भएको छैन । उसले अब दोस्रो क्वालिफायरमा एलिमिनेटर खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

एलिमिनेटरमा काठमाडौं गोर्खाज र चितवन राइनोज आमनेसामने हुँदैछन् । यी दुई टोलीबीचको खेल बुधबार हुनेछ ।

यस संस्करणमा लुम्बिनीले सुदूरपश्चिमलाई दोस्रो पटक पराजित गरेको हो । यसअघि प्रतियोगिताको उद्घाटन खेलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई सात विकेटले हराएको थियो ।