प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनलाई तत्काल पक्राउ गर्न जेन–जी अभियन्ताको माग


काठमाडौं । जेन–जी अभियन्ता अजय सोडारीले प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनलाई तत्काल पक्राउ गरी उनीमाथि उठेका आरोपबारे निष्पक्ष छानबिन गर्न माग गरेका छन्।

मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै सोडारीले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार नै विचौलियाको प्रभावमा परेको आरोप लगाएका छन्। जेन–जी आन्दोलनको जगमा पारदर्शिता, जवाफदेहिता, सुशासन र विधिको शासन स्थापित गर्ने प्रतिबद्धतासहित बनेको सरकारमा समेत शक्तिको दुरुपयोग र राज्यका निकायमाथि अनुचित हस्तक्षेप भएको विषय गम्भीर रहेको उनको भनाइ छ।

सोडारीले प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बेनले आफ्नो पद र पहुँचको दुरुपयोग गर्दै राज्यका निकायमाथि हस्तक्षेप गरेको, अनुसन्धान प्रक्रियालाई प्रभावित पार्न खोजेको तथा राज्य संयन्त्रलाई निष्प्रभावी बनाउने प्रयास गरेको आरोप लगाएका छन्।

विशेषगरी, इनम सापकोटा प्रकरणमा प्रहरी नियन्त्रणमा रहेको भनिएको मोबाइल फोन दुई दिनसम्म कुमार बेनको नियन्त्रणमा रहेको र त्यसबाट प्रहरी अनुसन्धान प्रभावित पार्ने तथा आफूसँग जोडिएका प्रमाण नष्ट गर्ने प्रयास भएको विषय गम्भीर रहेको विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै, विभिन्न व्यापारी, ठेकेदार तथा अन्य व्यक्तिलाई धरपकड गरी अनुचित लाभ लिने गरेको भन्ने विषयसमेत सार्वजनिक भएको भन्दै सोडारीले यसबारे निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरेका छन्। बेन र इनम सापकोटाबीचको निकट सम्बन्ध तथा उक्त प्रकरणमा उनको भूमिकाबारे समेत गम्भीर छानबिन आवश्यक रहेको उनले बताएका छन्।

विज्ञप्तिमा सोडारीले प्रश्न गरेका छन्, “प्रधानमन्त्रीका सल्लाहकार कुमार बेन प्रधानमन्त्रीका सल्लाहकार हुन् कि समग्र राज्यका सल्लाहकार ?”

सोडारीले कुमार बेनलाई तत्काल पक्राउ गरी उनीमाथि उठेका सम्पूर्ण आरोपको स्वतन्त्र तथा निष्पक्ष छानबिन गर्न र दोषी देखिए कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग जोडदार माग गरेका छन्।

“सरकार परिवर्तन हुनु मात्र परिवर्तन होइन, राज्य सञ्चालनको चरित्र परिवर्तन हुनु वास्तविक परिवर्तन हो,” विज्ञप्तिमा भनिएको छ।