काठमाडौँ । औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले एन्टिबायोटिकको जथाभावी प्रयोग नियन्त्रण गर्दै प्रतिजैविक प्रतिरोध (एन्टिमाइक्रोबियल रेसिस्टेन्स) न्यूनीकरण गर्न सबै क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।
विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह–२०२६ को अवसरमा बुधबार आयोजित प्रभातफेरी कार्यक्रममा बोल्दै भट्टराईले यस्ताे बताएका हुन् । उनले एन्टिबायोटिकको अनावश्यक, अत्यधिक तथा कम प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर पारिरहेको बताए ।
एन्टिबायोटिकको प्रभावकारिता जोगाउन यसको प्रयोगलाई व्यवस्थित र नियमन गर्नुपर्नेमा उनले जाेड दिए । उनले भविष्यमा उपचारका लागि आवश्यक पर्ने ‘रिजर्भ एन्टिबायोटिक’ औषधिको जथाभावी प्रयोग रोक्नुपर्ने बताए ।
प्रतिजैविक प्रतिरोध मानव स्वास्थ्यमा मात्र सीमित नरहेको उल्लेख गर्दै भट्टराईले पशु स्वास्थ्य र वातावरणसँग समेत यसको प्रत्यक्ष सम्बन्ध रहेको बताए । यस समस्याको नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभाग, पशु स्वास्थ्य तथा वातावरण क्षेत्रलगायत सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको उनको भनाइ थियो ।
उनले प्रतिजैविक प्रतिरोधबारे सर्वसाधारणलाई सचेत गराउन जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा समेत जोड दिए ।
‘एक स्वास्थ्य, एक प्रयास : प्रतिजैविक प्रतिरोध रोकौँ’ भन्ने नाराका साथ मनाउन लागिएको सप्ताहको उद्देश्य एन्टिबायोटिकको दुरुपयोग नियन्त्रण गर्दै प्रतिजैविक प्रतिरोधको बढ्दो चुनौतीलाई न्यूनीकरण गर्नु रहेको भट्टराईले बताए । औषधिको जिम्मेवार प्रयोग, जनचेतना र मानव, पशु तथा वातावरण स्वास्थ्यसँग सम्बन्धित निकायबीच सहकार्यबाट मात्रै यस समस्याको प्रभावकारी समाधान सम्भव हुने उनले उल्लेख गरे ।
बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट सुरु भएको प्रभातफेरी औषधि व्यवस्था विभाग पुगेर समापन भएको थियो ।




प्रतिक्रिया