विदेशको रोजगारी छाडेर गाउँमै भैँसीपालन, घ्यू बेचेर वार्षिक तीन लाख बचत


कास्की,२ मंसिर । कतार र कुवेतमा १८ वर्ष बिताएका कास्कीको माछापुच्छ्रे गाउँपालिका-९ सिदिङका मीनबहादुर क्षेत्री अहिले आफ्नै गाउँमा भैँसीपालन गरेर जीविकोपार्जन गरिरहेको छ । विदेशको रोजगारी छाडेर गाउँ फर्किएका उनले आठ वर्षदेखि भैँसीपालनलाई आम्दानीको माध्यम बनाएका हुन् । 

विदेशमा लामो समय काम गर्दा परिवारबाट टाढा बस्नुपरेको अनुभवले उनलाई स्वदेशमै केही गर्ने प्रेरणा मिल्यो । अहिले परिवारसँगै बसेर आफ्नै पेसा गर्न पाउँदा उनी सन्तुष्ट छन् । उनको गोठमा अहिले १६ वटा भैँसी छन् । तीमध्ये पाँच वटा दुहुना छन् ।

क्षेत्रीले दूध बिक्री गर्नुको सट्टा दही जमाएर मोही पार्ने र घ्यू उत्पादन गरी बिक्री गर्दै आएका छन् । पाँच दिनको दूधबाट चार लिटर घ्यू उत्पादन हुने उनले बताए। उत्पादित घ्यू प्रतिलिटर रु एक हजार ५०० मा बिक्री हुन्छ ।

उनले उत्पादन गरेको घ्यू सिदिङमा मात्र नभई मर्दी हिमाल पदयात्रा मार्गका लो क्याम्प र फरेष्ट क्याम्पसम्म पुर्‍याएर पर्यटकलाई पनि बिक्री गर्छन् । पदयात्रामा आउने पर्यटकसम्म स्थानीय उत्पादन पुर्‍याउन सकेपछि बजारको समस्या नरहेको उनको अनुभव छ ।

भैँसीपालनका लागि उनले स्थानीय चरन क्षेत्रको उपयोग गर्दै आएका छन् । दूध दिने भैँसीलाई गोठमा बाँधेर राख्ने र दूध दिन छाडेका भैँसीलाई लेकतिर चराउन लैजाने गरेका छन् । सिदिङदेखि कालीमाटीमाथिको लेकसम्म भैँसी चराउन लैजाँदा घाँस, दाना र परालको खर्च कम हुने उनी बताउछन् । “दूध दिने भैँसीलाई गोठमै बाँध्ने हो, दूध दिन छाडेकालाई लेकतिर चराउन लैजाने हो । यसबाट घाँस, दाना र परालको खर्च कम हुन्छ,” उनले भने।

घ्यू उत्पादनसँगै क्षेत्रीले राँगा तथा भैँसीको खरिदबिक्री पनि गर्दै आएका छन् । राम्रो दूध दिने भैँसीको मूल्य रु एक लाखसम्म पर्ने उनले बताए। घ्यू र भैँसीको बिक्रीबाट घरखर्च कटाएर वार्षिक करिब रु तीन लाख बचत हुने गरेको उनको भनाइ छ ।

भैँसीपालनमा परिवारको साथ र सहयोगले व्यवसायलाई निरन्तरता दिन सहज भएको उनी बताउछन् । उनले छोरीलाई स्नातक तहसम्म अध्ययन गराएका छन्। छोरी अहिले जापानमा छिन् भने दुई छोरा कक्षा ९ मा अध्ययनरत छन् ।

विदेशमा आर्जन गरेको अनुभव र मेहनत आफ्नै गाउँमा उपयोग गर्न सके आम्दानीका लागि विदेश नै जानुपर्ने बाध्यता नहुने उनको अनुभव छ । गाउँको लेकाली वातावरणमा पशुपालन गर्दै परिवारसँगै बस्न पाउँदा आफू सन्तुष्ट रहेको उनी बताउछन् ।