गण्डकी, २ मङ्सिर । फोहरलाई मोहरमा बदल्ने उद्देश्यसहित पोखरामा सञ्चालित ‘रिसाइकिलिङ र अपसाइकिलिङमार्फत हरित रोजगारी सिर्जना परियोजना’अन्तर्गत दोस्रो संस्करणको ‘आरयू फेस्ट–२०२६’ आजदेखि पोखरामा सुरु हुँदैछ । दुई दिनसम्म चल्ने उक्त मेलाको तयारी पूरा भएको आयोजक पोखरा महानगरपालिकाले जनाएको छ ।
‘फोहरलाई नयाँ दृष्टिकोणबाट हेरौँ, यसको मूल्य पहिचान गरौँ र पोखराको भविष्यलाई चक्रीय बनाऔँ’ भन्ने सन्देशका साथ आयोजना गरिएको ‘आरयू फेस्ट–२०२६’ मार्फत फोहरलाई व्यवस्थापन गर्नुपर्ने समस्याका रूपमा मात्र नभई पुनःप्रयोग र प्रशोधनमार्फत आर्थिक तथा वातावरणीय मूल्य सिर्जना गर्न सकिने स्रोतका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको छ ।
महानगरपालिका, कोरिया अन्तरराष्ट्रिय सहयोग नियोग र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सहकार्यमा उक्त मेला आयोजना गरिएको नगरप्रमुख धनराज आचार्यले बताए । रिसाइकल तथा अपसाइकल उद्यमलाई बजारसम्म पहुँच र बिक्रीका अवसर उपलब्ध गराउने उद्देश्यले ‘आरयू फेस्ट’को आयोजना गरिएको उनको भनाइ छ ।
सो अवसरमा ‘आरयू’ उद्यमका उत्पादन तथा नवीन अभ्यासको प्रदर्शनी, दिगो फोहर व्यवस्थापनका उपाय, चक्रीय अर्थतन्त्र र प्लास्टिक प्रदूषण न्यूनीकरणका विषयमा जनचेतना अभिवृद्धि गरिने उनले बताए । त्यसबाट फोहरलाई रिसाइकिलिङ र अपसाइकिलिङ गर्ने उद्यमी, पर्यटन क्षेत्र, निजी कम्पनी तथा आमनागरिकबीच सम्बन्ध र सहकार्य विस्तार हुने महानगरको विश्वास छ ।
मेलामा विद्यार्थीलाई सिकाइ तथा अनुभव आदानप्रदानको अवसरसमेत प्रदान गरिने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले बताए ।
पोखरामा ग्रिन भेन्चर जोन (जीभीजेड)को अवधारणालाई प्रवर्द्धन गर्दै ‘आरयू’ उद्यमी तथा नवप्रवर्तक विद्यार्थीलाई लगानी र व्यवसाय विस्तारका अवसरसँग जोड्ने योजना रहेको उनले बताए । मेलामा ४० वटा ‘स्टल’ रहने जनाइएको छ ।
मेलामा परियोजनाको सहयोगमा प्रवद्र्धित ‘आरयू’ उद्यमका उत्पादनको प्रदर्शनी तथा बिक्रीकक्ष, ‘आरयू खजना’ दौड, अन्तक्र्रियात्मक खेल, कला प्रस्तुति, प्रयोगात्मक कार्यशालालगायत सिर्जनात्मक गतिविधि सञ्चालन गरिने भएको छ । प्रयोग भइसकेका कपडा तथा अन्य सामग्रीको पुनः प्रयोगमार्फत तयार पारिएका पोसाक, कलाकृति आदि प्रदर्शनीमा राखिनेछ ।




प्रतिक्रिया