काठमाडौँ । काठमाडौँ–तराई–मधेस द्रुतमार्गअन्तर्गत महादेवटार सुरुङको ‘ब्रेकथ्रु’ सम्पन्न भएको छ । ‘ब्रेकथ्रु’ सम्पन्न भएसँगै चिनियाँ निर्माण कम्पनीले बाँकी काम निर्धारित समयमै पूरा गर्ने प्रतिबद्धता जनाएको छ ।
बुधबार आयोजित सुरुङको ‘ब्रेकथ्रु’ समारोहमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी लिमिटेडका प्रतिनिधि वाङ सीले निर्माणका बाँकी कामलाई तीव्रता दिँदै गुणस्तर र सुरक्षामा विशेष ध्यान दिने बताएका हुन् ।
सुरुङ निर्माणको आगामी चरणमा ‘सेकेन्डरी लाइनिङ’ र सहायक संरचनाको कामलाई प्राथमिकतामा राखिने उनले जानकारी दिए । निर्माण प्रक्रियाको कडाइका साथ पालना गर्दै सम्भावित जोखिमको निरन्तर पहिचान र व्यवस्थापन गरिने उनले स्पष्ट पारे ।
प्रतिनिधि वाङ सीका अनुसार महादेवटार सुरुङ निर्माणका क्रममा कोभिड–१९ महामारी र हिमाली क्षेत्रको जटिल भूगर्भीय अवस्थाका कारण अनेकौँ चुनौती सामना गर्नुपरेको थियो ।
आयोजनाको यस उपलब्धिमा नेपाल सरकार, नेपाली सेना, परामर्शदाता, आयोजना साझेदार तथा नेपाली, चिनियाँ र कोरियाली इन्जिनियर, प्राविधिक र श्रमिकको सामूहिक योगदान रहेको वाङ सीले बताए ।




प्रतिक्रिया