बराह सहकारीका अध्यक्ष लामिछाने पक्राउ


विराटनगर । बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा फरार रहेका धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवकुमार लामिछाने (विश्वकर्मा) पक्राउ परेका छन् । उनलाई सीआईबीको टोलीले पक्राउ गरेको सुनसरीका प्रहरी प्रमुख एसपी पुष्पराज मल्लले जानकारी दिए ।

गृहमन्त्री सुधन गुरुङले पनि सामाजिक सञ्जालमार्फत पक्राउबारे जानकारी दिँदै यसलाई पूर्वका बचतकर्ताका लागि न्यायको सुरुवात भएको बताएका छन् । बराह सहकारी प्रकरणमा ५ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी बिगो हिनामिनाका मुख्य योजनाकारलाई कानुनी दायरामा ल्याइएको उनको दाबी छ ।

बराह सहकारीका सञ्चालकले देशभरका ४ हजार ७७२ भन्दा बढी बचतकर्ताको १० अर्ब ७३ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ । रकम फिर्ता नपाएपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए ।

प्रहरी अनुसन्धानअनुसार शिवकुमार लामिछानेमाथि मात्रै २ अर्ब ७१ करोड ३१ लाख ६० हजार २४ रुपैयाँ हिनामिना गरेको अभियोग छ । सहकारीका अन्य सञ्चालक मानबहादुर विश्वकर्मा, गंगा कालिकोटेलगायत भने अझै फरार रहेका छन् ।

गृहमन्त्री गुरुङले बाँकी फरार अभियुक्तको खोजी तथा कारबाहीलाई समेत तीव्रता दिइने बताएका छन् ।