काठमाडौँ । आगामी मंसिर ६ गते हुन लागेको आफ्नो भारतको औपचारिक भ्रमणको ठीक तीन दिनअघि प्रधानमन्त्री बालेन शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारमा उच्चस्तरीय कूटनीतिक संवाद भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको यो भेटवार्ता औपचारिक शिष्टाचारका अतिरिक्त प्रधानमन्त्री शाहको आसन्न नयाँदिल्ली भ्रमणको अन्तिम तयारी र द्विपक्षीय एजेन्डाहरूमा केन्द्रित रह्यो।
उक्त संवादमा मुख्यतः तीनवटा विषयले प्राथमिकता पाएका थिए- राजदूत दलेलाको कार्यकालको स्वागत, रसुवा–भोटेकोशी विपद्मा भारतीय सहयोगप्रतिको कृतज्ञता र मंसिर ६ को भ्रमणको ‘ग्राउन्डवर्क’।
भेटको सुरुवातमै प्रधानमन्त्री शाहले नेपालका लागि राजदूत नियुक्त भएर कार्यभार सम्हालेका दलेलालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए। लगत्तै उनले केही समयअघि रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोपछि भारत सरकारले उपलब्ध गराएको आपत्कालीन सहयोगप्रति नेपाल सरकारका तर्फबाट आभार प्रकट गरे। कूटनीतिक वृत्तमा विपद् सहयोगप्रतिको यो कृतज्ञतालाई दुई देशबीचको मानवीय र छिमेकी सम्बन्धको सकारात्मक प्रस्थानविन्दुका रूपमा हेरिएको छ।
संवादको मुख्य हिस्सा भने प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणकै सेरोफेरोमा घुमेको थियो। शाहले भ्रमणको व्यवस्थापकीय तथा कूटनीतिक तयारीबारे राजदूत दलेलासँग प्रत्यक्ष जानकारी लिएका थिए। जवाफमा राजदूत दलेलाले नयाँदिल्ली भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँग हुने भेटवार्ता ‘ऐतिहासिक र दूरगामी महत्त्वको’ हुने विश्वास दिलाए।

भ्रमणलाई औपचारिकतामा सीमित नराखी ठोस परिणाममुखी बनाउने विषयमा दुवै पक्षबीच समझदारी देखिएको छ। राजदूत दलेलाले भ्रमणका द्विपक्षीय एजेन्डाहरू तय भइसकेको जानकारी गराउँदै त्यसलाई थप उपलब्धिमूलक बनाउन काठमाडौँ र नयाँदिल्लीस्थित सम्बन्धित निकायहरूबीच तीव्र गृहकार्य भइरहेको बताए।
रास्वपा सरकारको नेतृत्व गरिरहेका प्रम बालेनको यो पहिलो औपचारिक भारत भ्रमणलाई काठमाडौँ र नयाँदिल्ली दुवैतर्फबाट निकै चासोका साथ हेरिएको छ। भ्रमणको पूर्वसन्ध्यामा राजदूत दलेलासँग भएको यो संवादले नयाँदिल्लीमा हुने बालेन–मोदी भेटवार्ताको कूटनीतिक आधारभूमि तयार पारेको विश्लेषण गरिएको छ।




प्रतिक्रिया