सिचुवानका सचिव वाङसँग रास्वपा प्रतिनिधिमण्डलको भेट, पाँच क्षेत्रमा सहकार्य प्रस्ताव


चेङ्दु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिनकुमार आचार्य नेतृत्वको प्रतिनिधिमण्डलले चीनको सिचुवान प्रान्तीय पार्टी सचिव वाङ स्याओहुईसँग भेटवार्ता गर्दै नेपाल–चीन सहकार्यका विभिन्न क्षेत्र अघि सारेको छ ।

चेङ्दुमा भएको भेटमा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई विकास, आर्थिक साझेदारी र साझा समृद्धिमा रूपान्तरण गर्ने विषयमा छलफल भएको रास्वपाले जनाएको छ । भेटमा पूर्वाधार, विपद् व्यवस्थापन, स्वच्छ ऊर्जा, कृषि, पर्यटन, व्यापार र प्रविधिलगायतका विषय प्राथमिकतामा रहेका थिए ।

रास्वपा प्रतिनिधिमण्डलले सीमापार यातायात, पर्वतीय विज्ञान तथा विपद् जोखिम न्यूनीकरण, स्वच्छ ऊर्जा र हरित उद्योग, हवाई सम्पर्क तथा व्यापार प्रवर्द्धन र युवा तथा डिजिटल नवप्रवर्तन गरी पाँच क्षेत्रमा सहकार्य प्रस्ताव गरेको छ ।

नेपाली पक्षले नेपाल–चीन सीमामा भरपर्दो सडक, सुक्खा बन्दरगाह तथा आधुनिक भन्सार प्रणाली विकास गर्नुपर्नेमा जोड दिएको छ । त्यस्तै, बाढी तथा पहिरोको पूर्वसूचना प्रणाली, पर्वतीय अनुसन्धान, जलविद्युत्, हरित हाइड्रोजन, विद्युतीय सवारीसाधन, ब्याट्री उत्पादन तथा प्रविधि हस्तान्तरणमा सहकार्यको सम्भावना औँल्याएको छ ।

चेङ्दुबाट काठमाडौं, पोखरा र भैरहवामा थप प्रत्यक्ष हवाई उडान विस्तार गर्न तथा नेपाली जडीबुटी, चिया, फलफूल र हस्तकलाका वस्तुको चीनमा बजार पहुँच बढाउन पनि प्रतिनिधिमण्डलले प्रस्ताव गरेको छ । कृत्रिम बुद्धिमत्ता, सफ्टवेयर इन्जिनियरिङ, प्राविधिक तालिम र हरित डेटा सेन्टरमा युवालाई जोड्ने विषयसमेत छलफलमा उठाइएको थियो ।

भेटमा सिचुवानका सचिव वाङले नेपाल र चीनबीचको परम्परागत मित्रता उल्लेख गर्दै रास्वपा प्रतिनिधिमण्डलका प्रस्तावलाई सकारात्मक रूपमा लिएको बताएका थिए । उनले दुई देशबीच भएका समझदारी कार्यान्वयनमा सिचुवानले भूमिका खेल्ने तथा स्थानीय तहमा राजनीतिक र सरकारी सम्बन्ध विस्तार गर्दै नयाँ सहकार्यका क्षेत्र खोज्ने प्रतिबद्धता व्यक्त गरेको रास्वपाले जनाएको छ ।

भेटका क्रममा दुवै पक्षले नेपाल–चीन सम्बन्ध पञ्चशीलका सिद्धान्त, सार्वभौमसत्ताको सम्मान र नेपालको स्वतन्त्र तथा सन्तुलित परराष्ट्र नीतिमा आधारित रहेको उल्लेख गरेका थिए । रास्वपा प्रतिनिधिमण्डलले एक चीन सिद्धान्तप्रति नेपालको प्रतिबद्धता दोहोर्‍याउँदै नेपाली भूमि चीनको सार्वभौमसत्ता र सुरक्षाविरुद्ध प्रयोग हुन नदिने धारणा राखेको थियो ।

रास्वपाले चिनियाँ कम्युनिस्ट पार्टीको संगठनात्मक तथा शासन सञ्चालन अनुभव अध्ययन गर्ने इच्छा व्यक्त गर्दै राजनीतिक प्रणाली फरक भए पनि नागरिकको हित, सुशासन र समृद्धि साझा उद्देश्य रहेको जनाएको छ ।

भ्रमणलाई नेपाल र चीनबीच विकास साझेदारी, प्रविधि हस्तान्तरण, व्यापार विस्तार तथा जनस्तरको सम्बन्ध सुदृढ बनाउने अवसरका रूपमा लिइएको रास्वपाले जनाएको छ ।