काठमाडौं । स्वतन्त्र नागरिक अभियान, नेपालले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गर्न माग गरेको छ। अभियानले स्थानीय निर्वाचन प्रणाली सुधार र सर्वदलीय राजनीतिक संवादमा नागरिक समाजको प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै आज निर्वाचन आयोगमा पुगेर ज्ञापनपत्र बुझाएको हो।
अभियानका संयोजक ऋषि धमलाको नेतृत्वमा आयोग पुगेको टोलीले स्थानीय तहलाई दलीय हस्तक्षेपबाट मुक्त राख्न गैरदलीय निर्वाचन प्रणाली आवश्यक रहेको जनाएको छ।
ज्ञापनपत्रमा स्थानीय तहमा बढ्दो दलीयकरण, राजनीतिक ध्रुवीकरण, भागबन्डा तथा बजेट विनियोजनमा देखिएका समस्याले स्थानीय शासन र सेवा प्रवाह प्रभावित भएको उल्लेख छ।
अभियानले राजनीतिक दलका चुनाव चिह्नको सट्टा स्वतन्त्र निर्वाचन चिह्न प्रयोग गर्ने व्यवस्था मिलाउन तथा गैरदलीय निर्वाचनका लागि आवश्यक संवैधानिक र कानुनी व्यवस्था गर्न सरकारलाई सिफारिस गर्न आयोगसँग आग्रह गरेको छ।
त्यस्तै, निर्वाचन प्रणाली सुधारसम्बन्धी छलफल र नीतिगत बहसमा नागरिक अभियानको संस्थागत प्रतिनिधित्व सुनिश्चित गर्न तथा आवश्यक कानुनी र प्रशासनिक तयारीपछि आगामी स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न माग गरिएको छ।
नेपालको संविधान २०७२ ले स्थानीय तहलाई स्थानीय स्वायत्तता, जनसहभागिता र प्रत्यक्ष जनउत्तरदायित्वको आधारमा सञ्चालन गर्ने परिकल्पना गरेको उल्लेख गर्दै अभियानले स्थानीय तहलाई दलगत हस्तक्षेपबाट मुक्त राख्नुपर्नेमा जोड दिएको छ ।
अभियानका संयोजक धमलाले केही महिनादेखि नै देशका विभिन्न स्थानमा पुगेर आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट हुनुपर्ने धारणा राख्दै आएका थिए। उनले स्थानीय तहको नेतृत्व सक्षम, योग्य र इमानदार व्यक्तिलाई सुम्पिनुपर्नेमा जोड दिएका छन्।




प्रतिक्रिया