३ मंसिर, सल्यान । नेपाली कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाश ज्वालाले आगामी निर्वाचनमा नेकपा एमालेसँग चुनावी तालमेल र सहकार्य हुने सम्भावना बलियो रहेको बताएका छन्। चुनावी सहकार्यले दुई पार्टीबीच एकताको बाटोसमेत खोल्न सक्ने उनको भनाइ छ।
नेपाली कम्युनिस्ट पार्टी सल्यानले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै ज्वालाले कम्युनिस्ट आन्दोलनको एकतालाई आफ्नो पार्टीले प्राथमिकतामा राखेको बताए। यसका लागि वार्ता टोलीसमेत गठन गरिसकेको उनले जानकारी दिए।
‘हामी एमाले र नेपाली कम्युनिस्ट पार्टीबीचको एकताको विषयमा निष्कर्षमा पुगिसकेका छौँ। प्रदेशमा सहकार्य भइसकेको छ। अब चुनावी तालमेल र सहकार्य पनि हुन्छ,’ उनले भने।
एकताका लागि एमाले र अध्यक्ष केपी शर्मा ओली पनि तयार हुनुपर्ने ज्वालाको भनाइ छ। विगतमा ओलीकै कारण कम्युनिस्ट पार्टीको एकता भंग भएको उल्लेख गर्दै उनले त्यसको समीक्षा गरेर अघि बढ्नुपर्ने बताए।
‘एक हातले ताली बज्दैन। त्यसका लागि एमाले र केपी ओली पनि तयार हुनुपर्छ,’ उनले भने।




प्रतिक्रिया