पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी


३ मंसिर, काठमाडौं । मलेसियामा वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि भएको ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पनि अनुसन्धानको दायरामा तानिएका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यस प्रकरणमा पक्राउ परेका व्यक्तिहरूमाथि अनुसन्धान गर्ने क्रममा अर्यालको समेत संलग्नता देखिएको जनाएको छ । उनीविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको प्रहरीकाे उच्च स्राेतले बतायाे । तर, अर्याल भने हाल फरार रहेका छन् ।

प्रकरणसँग सम्बन्धित कागजातमाथि अनुसन्धान अघि बढेपछि उनी सम्पर्कविहीन भएको स्रोतको दाबी छ ।

यसै प्रकरणमा सीआईबीले बुधबार दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय रहेका छन् ।

त्यस्तै, श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ पनि पक्राउ परेका छन् ।

मलेसिया रोजगारीका नाममा श्रमिकमाथि भएको ठगी प्रकरणमा सीआईबीले थप अनुसन्धान अघि बढाइरहेको जनाएकाे छ ।