‘नेपाललाई विदेशी हस्तक्षेपको रणभूमि बनाउन खोजियो’:राष्ट्रिय जेन्जी नागरिक अभियान


काठमाडौँ । राष्ट्रिय जेन्जी नागरिक अभियानले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितविपरीतका गतिविधि भइरहेको भन्दै आपत्ति जनाएको छ ।

अभियानले बिहीबार काठमाडौंको माइतीघर मण्डलामा पम्प्लेट वितरण गर्दै तिब्बती गतिविधि, दलाई लामासम्बन्धी गतिविधि तथा एक चीन नीतिविपरीतका क्रियाकलाप बढिरहेको आरोप लगाएको हो ।

अभियानका अजय सोडारीले नेपाललाई विदेशी हस्तक्षेपको रणभूमि बनाउने प्रयास भइरहेको आशंका व्यक्त गर्दै राष्ट्रिय सार्वभौमसत्ताविपरीतका कुनै पनि गतिविधि हुन नहुने बताए ।

दलाई लामाका प्रतिनिधिहरू काठमाडौं आएको विषयमा आपत्ति जनाउँदै उनले सरकारले यस्ता गतिविधि तत्काल रोक्नुपर्ने माग गरे ।

दलाई लामासम्बन्धी गतिविधि विस्तार गरी स्वतन्त्र तिब्बतको पक्षमा माहोल बनाउने प्रयास नेपालको राष्ट्रिय हित र एक चीन नीतिविपरीत रहेको सोडारीको दाबी छ ।

यसैगरी, अभियानले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त छुइङ डोल्माको नियुक्तिप्रति पनि विरोध जनाएको छ । डोल्माको नागरिकता तथा सम्पत्तिसम्बन्धी विषयमा प्रश्न उठाउँदै आएको उल्लेख गर्दै सोडारीले लामो समयदेखि विरोध भइरहे पनि सरकारले सुनुवाइ नगरेको आरोप लगाए ।