भारत भ्रमणमा जाँदै गरेका प्रम बालेनलाई पूर्वराजदूत उपाध्यायले दिए यस्तो सुझाव


काठमाडौँ । भारतका लागि नेपालका पूर्वराजदूत एवं पूर्वमन्त्री दीपकुमार उपाध्यायले प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणका क्रममा कूटनीतिक परिपक्वता, गम्भीरता र चातुर्य देखाउनुपर्नेमा जोड दिएका छन् ।

प्रधानमन्त्रीको भारत भ्रमणको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उपाध्यायले नेपाल–भारत सम्बन्धको गौरवपूर्ण परम्परालाई स्मरण गर्दै भ्रमणलाई राष्ट्रहितमा उपयोग गर्न सुझाव दिएका हुन् ।

उनले कूटनीति भनेकै गम्भीरता, चातुर्य र कौशल भएको उल्लेख गर्दै भ्रमणका क्रममा हीनताबोध र लघुताभासबाट मुक्त भएर नेपालका समस्या र एजेन्डाहरू स्पष्ट रूपमा राख्न डराउन नहुने बताए । “प्रधानमन्त्रीले होस पुर्‍याएर काम गर्नुपर्छ र राष्ट्रलाई हित हुने विषयमा परिपक्वता देखाउनुपर्छ,” उपाध्यायले भने ।

पूर्वराजदूत उपाध्यायले सुस्ता र कालापानी क्षेत्रमा अझै पनि डिजिटल म्यापिङ हुन बाँकी रहेको औँल्याउँदै राजनीतिक तहमा दृढ इच्छाशक्ति भएमा सीमा समस्या समाधान हुने विश्वास व्यक्त गरे । विगतमा बंगलादेश र भारतबीचको जटिल सीमा समस्या पनि राजनीतिक इच्छाशक्तिबाटै समाधान भएको उदाहरण दिँदै उनले नेपालले पनि आफ्ना कमीकमजोरी महसुस गरी वार्तामार्फत समाधान खोज्नुपर्ने धारणा राखे ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकै प्रस्तावमा बुद्ध सर्किट र रामायण सर्किट निर्माण भएको स्मरण गराउँदै उपाध्यायले ती सर्किटमा पर्यटक भित्र्याउन भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विमानको नियमित उडान अनिवार्य रहेको बताए । “भ्रमणमा नेपालले भैरहवा र पोखरा विमानस्थलमा भारतीय विमान आउजाउ गर्ने वातावरण बनाउने विषयलाई स्पष्ट एजेन्डाका रूपमा उठाउनुपर्छ,” उनले भने ।

यसैगरी, हिमालको पानी संरक्षण र सही उपयोग गर्न सके नेपालको कायापलट हुने बताउँदै उनले भ्रमणमा यस विषयलाई पनि प्राथमिकता दिनुपर्ने उल्लेख गरे ।

पछिल्लो समय भियतनाम, चीन, लाओस र कम्बोडियाजस्ता मुलुकमा वैदेशिक लगानी व्यापक रूपमा भित्रिँदै गए पनि नेपालमा लगानीकर्ता आउन डराइरहेको उपाध्यायको भनाइ छ । मुलुकमा शान्तिसुरक्षाको अवस्था र व्यवसायीलाई हेर्ने दृष्टिकोण गलत भएकाले लगानीको वातावरण बन्न नसकेको टिप्पणी गर्दै उनले लगानीकर्तालाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए ।

छिमेकी देश भारतले नेपालसँग सुमधुर सम्बन्ध कायम गर्न चाहेको पनि पूर्वराजदूत एवं पूर्वमन्त्री उपाध्यायको भनाइ छ ।