२१ बुँदे संकल्प पारित गर्दै एमालेको राष्ट्रिय भेला सम्पन्न


काठमाडौं । नेकपा एमालेको दुईदिने राष्ट्रिय भेला २१ बुँदे संकल्प प्रस्ताव पारित गर्दै बिहीबार सम्पन्न भएको छ ।

बुधबारदेखि सुरु भएको भेलामा अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी तथा उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’ र विष्णुप्रसाद पौडेलले विभिन्न कार्यपत्र प्रस्तुत गरेका थिए ।

करिब ३ हजार ४१४ प्रतिनिधि सहभागी भेलाले आगामी निर्वाचनमा एकताबद्ध भएर अघि बढ्ने र सरकारका स्वेच्छाचारी गतिविधिविरुद्ध आन्दोलनका लागि तयार रहने संकल्प गरेको छ ।

पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले प्रस्तुत गरेको २१ बुँदे प्रस्ताव भेलाले अनुमोदन गरेको हो । उक्त प्रस्तावलाई पार्टीको प्रचार विभागले एकीकृत गरी सार्वजनिक गर्ने तयारी गरेको छ ।

समापनका क्रममा अध्यक्ष ओलीले आगामी निर्वाचनमा सबै नेता तथा कार्यकर्तालाई एकढिक्का भएर लाग्न निर्देशन दिएका थिए ।

भेला सकिएपछि एमालेको केन्द्रीय कमिटी बैठक सुरु हुने भएको छ । बैठकमा बाँकी नेताहरूको कार्यविभाजनबारे छलफल हुने प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन् ।