भारत भ्रमणका एजेन्डामा राष्ट्रिय सहमति जुटाए प्रधानमन्त्री बालेन बलियो बन्नुहुन्छ : सिम्खडा


काठमाडौँ । वरिष्ठ कूटनीतिज्ञ एवं पूर्वराजदूत डा. शम्भुराम सिम्खडाले भारत भ्रमणका क्रममा प्रस्तुत गर्ने एजेन्डाहरूमा आन्तरिक र दलीय सहमति जुटाउन सके प्रधानमन्त्री बालेन शाहको प्रस्तुति थप दरिलो हुने बताएका छन् ।

प्रधानमन्त्रीको भारत भ्रमणको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै परराष्ट्र मामिला विश्लेषक सिम्खडाले राष्ट्रिय हितलाई केन्द्रमा राखेर भारतसँग दृढतापूर्वक प्रस्तुत हुन सुझाव दिएका हुन् ।

सरकारले भ्रमणका एजेन्डाहरूमा गृहकार्य गरिरहेको जानकारी आउनु सकारात्मक रहेको उल्लेख गर्दै उनले प्रधानमन्त्री बालेनले भ्रमणअघि सबै राजनीतिक दल, पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री तथा पूर्वराजदूतहरूसँग संवाद गर्नुपर्नेमा जोड दिए । “भारतसँग प्रस्तुत गर्ने एजेन्डा दरिलो हुनुपर्छ । प्रधानमन्त्री त्यतिबेला मात्रै दरिलो हुनुहुन्छ, जतिबेला आफ्ना एजेन्डाप्रति सबैको न्यूनतम सहमति हुन्छ,” सिम्खडाले भने, “एजेन्डा प्रस्ट पारेर सरोकारवाला सबैसँग वार्ता गर्दा अन्ततः प्रधानमन्त्री बालेनलाई नै बल मिल्छ ।”

भ्रमणका क्रममा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाका विषयमा छलफल गर्ने तयारी हुनु स्वागतयोग्य रहेको उनले बताए । साथै, नेपालले भारतबाट के चाहन्छ र भारतले नेपालबाट के चाहन्छ भन्ने विषयमा दुवै पक्ष स्पष्ट हुनुपर्ने उनको भनाइ छ ।

नेपालको सबै मुलुकसँग विशिष्ट सम्बन्ध रहे पनि छिमेकी भारत र चीनसँग अति विशिष्ट र महत्त्वपूर्ण सम्बन्ध रहेको सिम्खडाले स्मरण गराए । “भारतसँग नेपालको विशिष्ट किसिमको सम्बन्ध छ, एउटा देशलाई घाउ लाग्दा अर्को देशलाई दुख्छ,” उनले भने, “भारतसँगको हाम्रो सम्बन्धको महत्त्व बुझेर आपसी विश्वासको वातावरण निर्माण गर्न जरुरी छ ।”