काठमाडौँ । स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमण विकास, समृद्धि र दुईपक्षीय हितमा ‘आइसब्रेक’ र ‘ब्रेकथ्रु’ हुनुपर्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै धमलाले बीपी कोइरालापछि दुई तिहाइको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन शक्तिशाली प्रधानमन्त्रीका रूपमा भारत भ्रमणमा जान लागेको उल्लेख गरे । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ताले नेपाल–भारत सम्बन्धलाई आर्थिक पाटोमा फड्को मार्न सफल बनाउनुपर्नेमा जोड दिए ।
‘आर्थिक कूटनीति आजको आवश्यकता हो । समृद्धशाली नेपाल बनाउन भारतको सहयोग अपरिहार्य छ,’ धमलाले भने, ‘नेपालको जनमत, परिवर्तन र लोकतन्त्रको पक्षमा भारत सधैँ उभिएको छ र यसलाई आत्मसात् गर्दै आएको छ ।’
भ्रमणको पूर्वतयारीस्वरूप प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार (कुमार बेन) केही एजेन्डासहित पहिले नै दिल्ली गइसकेको प्रसंग उल्लेख गर्दै धमलाले दुई देशबीचको सम्बन्ध सुमधुर राख्न भ्रमण फलदायी हुनुपर्ने बताए । भ्रमणका क्रममा आर्थिक विकास, ऊर्जा, पर्यटन तथा समग्र समृद्धिका विषयमा ठोस छलफल हुनुपर्ने धमलाको भनाइ छ ।
प्रधानमन्त्री बालेनले दिल्ली प्रस्थान गर्नुअघि पूर्वप्रधानमन्त्रीहरू, पूर्वपरराष्ट्रमन्त्रीहरू, पूर्वराजदूतहरू तथा राष्ट्रिय दलका अध्यक्षहरूसँग परामर्श गरी देशको साझा एजेन्डा लिएर जानुपर्ने सुझावसमेत धमलाले दिएका छन् ।




प्रतिक्रिया