कडा एक्सनमा सरकार : पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ


काठमाडौं । मलेसिया जाने नेपाली श्रमिकमाथि ठगी गरी गैरकानुनी रूपमा रकम विदेश पठाइएको प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव पदमा कार्यरत रहँदा बेस्टिनेट कम्पनीलाई रकम विदेश पठाउन अनुमति दिने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा अर्याललाई अनुसन्धानका लागि पक्राउ गरिएको हो। उनीविरुद्ध पक्राउ पुर्जी भने हिजै जारी भएको थियो।

अर्याल २०७९ सालमा शेरबहादुर कुँवर श्रममन्त्री रहेका बेला मन्त्रालयको सचिवको जिम्मेवारीमा थिए। सोही समयमा सहसचिव र सचिव हुँदै मन्त्रीसमक्ष प्रस्ताव पेस गरिएको र त्यसकै आधारमा कम्पनीलाई रकम विदेश पठाउन स्वीकृति दिने निर्णय भएको बताइएको छ।