इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी


तेल अभिव, ४ मङ्सिर । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानविरुद्ध सैन्य कारबाही अपरिहार्य रहेको बताएका छन् । इजरायली सेना र अमेरिकी सेन्ट्रल कमान्डबीच आक्रमणका साझा योजना तयार रहेको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अन्तिम निर्णयको प्रतीक्षा भइरहेको इजरायली सञ्चारमाध्यमले जनाएका छन् ।

द टाइम्स अफ इजरायलका अनुसार नेतान्याहुले वरिष्ठ मन्त्री तथा सुरक्षा अधिकारीहरूसँगको छलफलमा इरानविरुद्ध केही दिनसम्म सैन्य कारबाही गर्न अमेरिकी समर्थन जुटाउने प्रयास गरिरहेका छन् । तर, अमेरिकी अधिकारीहरूले नयाँ सैन्य द्वन्द्वका लागि उहाँले गरिरहेको पहलप्रति शङ्का व्यक्त गरेका छन् । आगामी अक्टोबर २७ को निर्वाचनमा संसद् नेसेटमा बहुमत गुमाएपछि आफ्नो राजनीतिक पद जोगाउने उद्देश्यले नेतान्याहुले यस्तो पहल गरेको हुन सक्ने अमेरिकी पक्षको आशङ्का छ ।

यसैबीच, चीनमा अमेरिकी राष्ट्रपति ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको छलफलमा आणविक हतियारको प्रसार नियन्त्रण र क्षेत्रीय द्वन्द्व प्रमुख विषय बनेका छन् । ट्रम्पले तीनै आणविक शक्तिराष्ट्रले हतियारको सङ्ख्या घटाउने र आणविक जोखिम कम गर्ने विषयमा सहकार्य गर्नुपर्ने बताएका छन् । उनले इरानलाई आणविक हतियार विकास गर्न नदिने अमेरिकी प्रतिबद्धता पनि दोहोर्‍याए ।

यता, इरानले आफूले जैविक तथा रासायनिक हतियार विकास गरिरहेको अमेरिकी आरोप अस्वीकार गरेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले वासिङ्टनले सन् २००३ मा इराकमाथि आक्रमण गर्नुअघि लगाएका अप्रमाणित आरोपकै शैली दोहोर्‍याएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल एक्समार्फत उनले इरानको आणविक कार्यक्रमसम्बन्धी आरोपपछि अहिले जैविक तथा रासायनिक हतियारको विषय उठाइएको भन्दै अमेरिकी दाबीप्रति आपत्ति जनाएका छन् । उनले इराक युद्धअघि सामूहिक विनाशका हतियार रहेको दाबी गरिए पनि त्यसको पुष्टि हुन नसकेको प्रसङ्ग स्मरण गराउँदै अहिलेका आरोपप्रति अन्तर्राष्ट्रिय समुदाय सचेत हुनुपर्ने बताएका छन् । रासस