निर्वाचन निष्पक्ष बनाउने मुख्य जिम्मेवारी सरकारको हो: गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी निर्वाचन निष्पक्ष, स्वतन्त्र र विश्वसनीय बनाउने प्रमुख जिम्मेवारी सरकारको भएको बताएका छन्।

शुक्रबार निर्वाचन आयोगसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति थापाले निर्वाचन सम्पन्न गराउने सन्दर्भमा आयोगको भूमिका भए पनि निष्पक्षताको सुनिश्चितता गर्ने दायित्व सरकारको बढी हुने बताएका हुन्।

‘निर्वाचन गर्ने सन्दर्भमा आयोगको एउटा जिम्मेवारी छ, तर त्यो सीमित छ,’ उनले भने, ‘निर्वाचनको निष्पक्षताको सुनिश्चितता गर्ने सबैभन्दा ठूलो जिम्मेवारी सरकारको हुन्छ।’

थापाले राजनीतिक दललाई नचिन्ने र नमान्ने भन्दै सरकार अघि बढ्न खोजे पनि निर्वाचनका बेला त्यस्तो व्यवहार स्वीकार्य नहुने बताए। निर्वाचन लोकतान्त्रिक प्रक्रिया भएकाले सरकारले राजनीतिक दलहरूसँग आवश्यक संवाद र सहकार्य गर्नुपर्ने उनको जोड थियो।

‘निर्वाचनका बारेमा सरकारले दलहरूसँग संवाद गर्नुपर्छ। निर्वाचनबारे संविधानले निर्दिष्ट गरेको व्यवस्था छ,’ उनले भने।

उनले निर्वाचनको खर्च, समयतालिका लगायतका विषयमा सरकारले नै राजनीतिक दलहरूसँग छलफल अघि बढाउनुपर्ने बताए।