काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का निवर्तमान अध्यक्ष तथा ऊर्जा मन्त्रीका सल्लाहकार गणेश कार्कीले समृद्ध नेपाल निर्माणका लागि भारतसँगको आर्थिक सहकार्य अपरिहार्य रहेको बताएका छन् ।
प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणमा नेपाल–भारत आर्थिक साझेदारी, व्यापार विस्तार तथा निजी क्षेत्रको अपेक्षाबारे रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै कार्कीले राजनीतिक तथा कूटनीतिक सम्बन्धसँगै आर्थिक सम्बन्धलाई पनि थप प्रगाढ बनाउनुपर्ने बताएका हुन् ।
“परम्परागत राजनीतिक र कूटनीतिक सम्बन्धलाई त अझ प्रगाढ बनाउनुपर्छ नै, तर त्यससँगै आर्थिक सम्बन्धलाई पनि विकास गर्नुपर्छ । वास्तवमा समृद्ध नेपाल निर्माण गर्ने हो भने भारतसँगको सहकार्य अपरिहार्य छ,” उनले भने ।
कार्कीले नेपाल–भारतबीच सडक, रेल तथा हवाई कनेक्टिभिटी विस्तारलाई प्राथमिकता दिनुपर्ने बताए । पोखरा र भैरहवा विमानस्थललाई भारतका विभिन्न गन्तव्यसँग हवाई सम्पर्कमा जोड्न सके नेपालको पर्यटन क्षेत्रले थप गति लिने उनको भनाइ थियो । पोखराबाट मुक्तिनाथसम्मको पर्यटन आवागमनसमेत सहज हुने उनले बताए ।
“पोखरा र भैरहवामा भारतसँग हवाई कनेक्टिभिटीको सम्बन्ध स्थापित गर्न सकियो भने यसले देशलाई अर्को उचाइमा पुर्याउन सक्छ । पोखरामा उडान भयो भने मुक्तिनाथ जोड्न पनि सहज हुन्छ,” उनले भने ।




प्रतिक्रिया