सुशीला कार्की र राष्ट्रपति पौडेलले असंवैधानिक कदम चाले : केपी ओली


५ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका छन् ।

पार्टीको नेशनल भोलिन्टियर फोर्सको पहिलो स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले तत्कालीन प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गरेलगत्तै संविधानविपरीत काम गरेको दाबी गरे ।

उनले संविधान मिचेर प्रधानमन्त्री नियुक्त गरिएको र त्यसपछि प्रतिनिधिसभा विघटनको सिफारिस गरिएको आरोप लगाए ।

“उहाँले पहिलो काम के गर्नुभयो भने व्यक्तिगत तवरमा एउटा असंवैधानिक प्रधानमन्त्रीले संसद् विघटनको सिफारिस गर्नुभयो र राष्ट्रपतिले डरपोक भएर प्रतिनिधिसभाको असंवैधानिक विघटन गर्नुभयो,” ओलीले भने ।

राष्ट्रपति पौडेलले संसद् विघटन गरेर लोकतन्त्र जोगाएको दाबी गर्नुको औचित्यमाथि पनि ओलीले प्रश्न उठाए ।

“असंवैधानिक ढंगले संसद् विघटन गरेर लोकतन्त्र जोगिन्छ ? बडो जुक्ति लगाएर लोकतन्त्र जोगाएँ भन्नुभयो । त्यसरी लोकतन्त्र जोगिन्छ ?” उनले प्रश्न गरे ।

ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध आफ्नो पार्टीले सर्वोच्च अदालतमा रिट निवेदन दिएको भए पनि त्यसमा अहिलेसम्म फैसला नभएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

अदालतले आफ्नो पक्षमा फैसला नगरे पनि न्यायिक प्रक्रियाअनुसार निर्णय दिनुपर्ने उनको भनाइ थियो ।

“प्रतिनिधिसभा असंवैधानिक ढंगले विघटन भयो भनेर हामीले मुद्दा हालेपछि ठिक छ, हराउनुस्, अन्याय गर्नुस्, तर फैसला त गर्नुस् । फैसला नगरी उहाँहरू चुप लागेर बस्नुभयो,” ओलीले गुनासो गरे ।