तेहरान । इरानको समृद्ध युरेनियम भण्डार र भविष्यमा युरेनियम संवर्धन गर्ने विषयमा सहमति जुट्न नसकेपछि इरान र अमेरिकाबीचको वार्ता ठप्प भएको छ । मध्यस्थकर्ताहरूले दुवै पक्षबीचको मतभेद कायमै रहेकाले मध्यपूर्वमा पुनः सैन्य द्वन्द्व चर्किन नदिने ग्यारेन्टी दिन नसक्ने चेतावनी दिएका छन् ।
अल अरेबिया इङ्ग्लिसले एक वरिष्ठ स्रोतलाई उद्धृत गर्दै दिएको प्रतिवेदनअनुसार अमेरिकाले इरानसँग आफ्नो समृद्ध युरेनियम भण्डार हटाउने र भविष्यमा युरेनियम संवर्धन पुनः सुरु नगर्ने स्पष्ट कार्ययोजना तथा लिखित प्रतिबद्धता मागिरहेको छ । मध्यस्थकर्ताहरूले मतभेद कम गर्न विभिन्न प्रस्ताव अघि सारे पनि दुवै देश आआफ्नो अडानमा कायम छन् ।
इरानको आणविक कार्यक्रमको भविष्यबारे सहमति हुन नसकिरहेका बेला कूटनीतिक वार्ता अवरुद्ध भएको हो । यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघचीले कूटनीतिक गतिरोध अन्त्य गर्ने नाममा मात्र अमेरिकासँग सम्झौता नगर्ने बताउनुभएको छ । उहाँले कुनै पनि सम्झौताले इरानको राष्ट्रिय हित र सुरक्षा चासो सम्बोधन गर्नुका साथै अर्को सैन्य टकराव हुन नदिने सुनिश्चितता गर्नुपर्नेमा जोड दिएका छन् ।
अल जजिराका अनुसार इरानको सरकारी सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा अराघचीले तेहरानले ‘न युद्ध न शान्ति’ को अवस्थालाई निरन्तरता दिनुभन्दा ‘राम्रो, सम्मानजनक र स्थायी सम्झौता’ चाहेको बताउनुभएको थिए ।
अमेरिकासँग हुन सक्ने सम्भावित समझदारीको स्थायित्वमाथि प्रश्न उठाउँदै उनले दुई महिनापछि नै सम्झौता उल्लङ्घन भएर फेरि युद्ध सुरु हुने हो भने अहिले सम्झौतामा पुग्नुको औचित्य नरहने धारणा व्यक्त गरे ।
गत जुनमा भएको युद्धविराम सम्झौताको १५ दिनपछि नै पुनः लडाइँ सुरु भएको प्रसङ्ग उल्लेख गर्दै उनले विगतको अवस्था दोहोरिने जोखिम रहेको अवस्थामा तेहरानले सम्झौता स्वीकार नगर्ने बताए ।
आणविक विषयमा भने इरान ६० प्रतिशतसम्म संवर्धन गरिएको युरेनियमको भण्डारबारे वार्ता गर्न तयार रहेको उनले स्पष्ट पारे । तर, उक्त सामग्री इरानबाहिर पठाउने प्रस्ताव भने तेहरानलाई स्वीकार्य नरहेको उनको भनाइ थियो ।
इरानको राष्ट्रिय हित र सुरक्षा चासोलाई समेट्ने बृहत् सम्झौता हुन सके युरेनियम संवर्धनका विषयमा पनि उपयुक्त सहमति निकाल्न सकिने अराघचीले बताए ।
कतार र पाकिस्तानलगायत मध्यस्थकर्तामार्फत तेहरान र वासिङ्टनबीच सन्देश तथा प्रस्ताव आदानप्रदान भइरहेको पनि उहाँले पुष्टि गर्नुभयो । “हामी कूटनीतिमा विश्वास गर्ने मानिस हौँ र अझै पनि कूटनीतिप्रति आशावादी छौँ”, उनले भने ।
इरानले आणविक कार्यक्रम, प्रतिबन्ध र सुरक्षा चासोलाई सम्बोधन गर्ने सम्झौता आवश्यक रहेको आफ्नो अडान दोहोर्याएको छ । अमेरिकाले आफ्ना सर्त पूरा गरेमा इरान हर्मुज जलघाँटी पुनः खोल्न इच्छुक रहेको पनि अराघचीले बताएका छन् ।




प्रतिक्रिया