काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले एक करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले पहिलो पटक उपाधि जितेको हो।
प्रतियोगिताको उपविजेता बनेको लुम्बिनी लायन्सले ८० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। त्यस्तै तेस्रो हुने टोलीले ४० लाख र चौथो स्थानमा रहने टोलीले ३० लाख रुपैयाँ पाउनेछन्।
यस संस्करणमा टोलीगत पुरस्कारका लागि मात्रै तीन करोड रुपैयाँ छुट्याइएको थियो। विजेता र उपविजेताले प्राप्त गर्ने पुरस्कार राशिले प्रतियोगितामा टोलीहरूको उपलब्धिलाई थप आकर्षक बनाएको छ।
व्यक्तिगत विधातर्फ पनि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न पुरस्कारको व्यवस्था गरिएको छ। उत्कृष्ट नेपाली खेलाडीले कार प्राप्त गर्नेछन् भने उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उदीयमान खेलाडीले मोटरसाइकल पुरस्कार पाउनेछन्।
त्यसैगरी प्रतियोगिताभर सर्वाधिक रन बनाउने र सर्वाधिक विकेट लिने खेलाडीलाई विशेष क्याप प्रदान गरिने व्यवस्था छ। प्रत्येक खेलको पावर प्लेमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
फाइनलमा सुदूरपश्चिमलाई उपाधि दिलाउन जर्ज मन्सेले उत्कृष्ट प्रदर्शन गरे। उनले ५४ बलमा अविजित १२५ रन बनाउँदै टोलीलाई १० विकेटको शानदार जित दिलाए। उनको विस्फोटक ब्याटिङका कारण सुदूरपश्चिमले १५६ रनको लक्ष्य १३.३ ओभरमै पूरा गरेको थियो।




प्रतिक्रिया