प्रधानमन्त्रीकाे घाेषणा: आठवटै क्लबका लागि फ्लडलाइटसहितका रंगशाला बन्ने


काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने गरी आठवटै क्लबका लागि आफ्नै क्रिकेट रंगशाला निर्माण गरिने घोषणा गरेका छन्।

एनपीएलको तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेपछि सामाजिक सञ्जालमार्फत विजेता टोलीलाई बधाई दिँदै प्रधानमन्त्री शाहले नेपाली क्रिकेटको व्यावसायिक विकासका लागि सरकारले आवश्यक पूर्वाधार निर्माण गर्ने बताएका हुन्।

उनका अनुसार आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गरिनेछन्। ती रंगशाला नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयले निर्माण गर्नेछ।

प्रधानमन्त्री शाहले फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै आगामी तीन महिनाभित्र अन्य सबै रंगशालाको निर्माण प्रक्रिया पनि अघि बढाइने बताएका छन्।

सरकारको योजनाअनुसार विराटनगर किंग्सका लागि बैजनाथपुर क्रिकेट रंगशाला, लुम्बिनी लायन्सका लागि सिद्धार्थ क्रिकेट रंगशाला र कर्णाली याक्सका लागि सुर्खेत क्रिकेट रंगशाला निर्माण गरिनेछ।

त्यस्तै सुदूरपश्चिम रोयल्सका लागि फाप्ला क्रिकेट रंगशाला, काठमाडौं गुर्खाजका लागि कीर्तिपुर क्रिकेट मैदान, पोखरा एभेन्जर्सका लागि पोखरा क्रिकेट रंगशाला, जनकपुर बोल्ट्सका लागि रामजानकी क्रिकेट रंगशाला र चितवन राइनोजका लागि गौतमबुद्ध क्रिकेट रंगशाला तोकिएको छ।

प्रधानमन्त्री शाहले क्रिकेटको व्यावसायिक विकास र विस्तारका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सरकार तयार रहेको उल्लेख गरेका छन्।