६ मंसिर, काठमाडौं । भारतको राजस्थानस्थित कोटा क्षेत्रमा भक्तजन बोकेको एउटा गाडी सडक किनारमा पार्किङ गरेर राखिएको ट्रकसँग ठोक्किँदा एकै परिवारका नौ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य केही व्यक्ति घाइते भएका छन्।
समाचार एजेन्सी पीटीआईका अनुसार दुर्घटना मध्यरातमा कोटाको शम्भुपुरा नजिकै भएको हो। गाडीमा १६ जना सवार रहेको बताइएको छ।
कोटाका अतिरिक्त जिल्ला कलेक्टर राजेश जोशीका अनुसार तीव्र गतिमा रहेको गाडी सडक किनारमा रोकिराखिएको ट्रकसँग ठोक्किएपछि दुर्घटना भएको थियो। दुर्घटनामा परी नौ जनाको घटनास्थलमै वा उपचारका क्रममा मृत्यु भएको विवरण सार्वजनिक भएको छ।
दुर्घटनामा मृत्यु हुने सबै एउटै परिवारका सदस्य रहेको अधिकारीहरूले बताएका छन्। घाइतेहरूलाई उपचारका लागि नजिकैका अस्पतालमा लगिएको छ।
उक्त परिवार राजस्थानको प्रसिद्ध धार्मिकस्थल खाटुश्यामको दर्शन गरेर महाराष्ट्र फर्किने क्रममा दुर्घटनामा परेको बताइएको छ।
दुर्घटनापछि स्थानीय प्रहरी तथा उद्धार टोली घटनास्थलमा पुगेका थिए। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।




प्रतिक्रिया