काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) पदमा पुनर्बहालीको माग गर्दै पूर्वआईजीपी दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटमा सोमबार पेसी तोकिएको छ । तर, विपक्षीहरूले म्याद नबुझेका कारण आज सुनुवाइ हुने सम्भावना न्यून रहेको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।
उक्त मुद्दा सोमबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा परेको छ । सर्वोच्च अदालतका प्रवक्ता तथा सह–रजिस्ट्रार अशोककुमार क्षेत्रीका अनुसार म्याद तामेलीसम्बन्धी प्रतिवेदन तामेलदारले इजलासमा पेस गरिसकेका छन् । अब मुद्दाको अवस्थाबारे इजलासले नै निर्णय गर्ने उनले बताए ।
यसअघि बुधबारको आदेशअनुसार कार्कीलाई आईजीपीमा पुनर्बहाली गर्ने वा नगर्ने भन्ने विषयमा अन्तरिम आदेश जारी गर्नुअघि विपक्षीहरूसँग छलफलका लागि सोमबारको पेसी तोकिएको थियो ।
कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र नवनियुक्त आईजीपी डा. मनोजकुमार केसीलाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन् ।
तर, सर्वोच्च अदालतले विपक्षीका नाममा पठाएको म्यादपत्रमा भाषिक त्रुटि रहेको भन्दै चारै पक्षले संशोधन नगरी म्याद बुझ्न अस्वीकार गरेका थिए । म्यादपत्रमा ‘बढुवा गरिएका भनिएका प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोजकुमार केसी’ उल्लेख गरिएको विषयमा उनीहरूले आपत्ति जनाएका थिए ।
विपक्षीहरूको आपत्तिपछि सर्वोच्च अदालतले उक्त त्रुटि सच्याएर शुक्रबार नयाँ सूचना पठाएको थियो । संशोधित पत्रमा ‘बढुवा गरिएको प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसी’ उल्लेख गरिएको थियो । तर, म्याद तामेलीको प्रक्रिया पूरा गर्न समय अभाव भएको जनाइएको छ ।




प्रतिक्रिया