काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार भएको उच्चस्तरीय भेटवार्तामा नेपाललाई विशेष आर्थिक प्याकेज उपलब्ध गराउने, भारतीय बन्दरगाहसम्म पहुँच विस्तार गर्ने र अयोध्या–जनकपुरधाम रेल सेवा सञ्चालन गर्ने विषयमा सहमति भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
विवरणअनुसार, भारतले नेपाललाई विशेष आर्थिक प्याकेज उपलब्ध गराउन सहमति जनाएको छ । नेपालले गत भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीबाट भएको क्षतिको पुनर्निर्माणका लागि भारतसँग आर्थिक सहयोग मागेको थियो । तर, नेपालले प्राप्त गर्ने रकमबारे भने खुलाइएको छैन ।
त्यस्तै, भारतले नेपाललाई गुजरातस्थित कान्डला र ओडिशास्थित पारादीप बन्दरगाह प्रयोग गर्न दिने भएको छ । यसबाट तेस्रो मुलुकबाट वस्तु आयात तथा नेपाली उत्पादन निर्यात गर्न सहज हुने अपेक्षा गरिएको छ ।
नेपालले यसअघि गुजरातस्थित मुन्द्रा बन्दरगाहसम्म पहुँच उपलब्ध गराउन आग्रह गरे पनि भारतले त्यसलाई स्वीकृति नदिएको र विकल्पमा कान्डला तथा पारादीप बन्दरगाह प्रयोगको सुविधा दिन लागेको विवरणमा उल्लेख छ ।
यसैगरी, नेपाल र भारतबीच धार्मिक तथा सांस्कृतिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले अयोध्या–जनकपुरधाम रेल सेवा सञ्चालन गर्ने विषयमा पनि सहमति भएको जनाइएको छ ।
‘सरयू–कमला एक्सप्रेस’ नाम दिइएको उक्त रेल सेवाले भारतको अयोध्या र नेपालको जनकपुरधामलाई जोड्नेछ । प्रधानमन्त्री शाह र मोदीले संयुक्त रूपमा रेल सेवाको उद्घाटन गर्ने तयारी रहेको विवरणमा उल्लेख छ ।
रेल सेवा सञ्चालनमा आएपछि दुवै धार्मिक स्थलमा आवतजावत गर्ने तीर्थयात्री तथा पर्यटकलाई सहज हुने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया