काठमाडौँ । नयाँ दिल्लीमा सोमबार प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा ‘स्वीच’ थिचेर पाँचवटा द्विपक्षीय परियोजनाको उद्घाटन तथा शिलान्यास गरेका छन् । भारतीय सहयोगमा निर्माण हुने चार परियोजनाको शिलान्यास र एक परियोजनाको उद्घाटनलाई दुई देशबीचको ‘कनेक्टिभिटी’, ऊर्जा व्यापार र इन्धन आपूर्ति सहकार्यको महत्त्वपूर्ण कडीका रूपमा हेरिएको छ ।
भ्रमणका क्रममा सीमा पूर्वाधार, ऊर्जा र पेट्रोलियम क्षेत्रका परियोजनाले प्राथमिकता पाएका छन् । सुदूरपश्चिमको व्यापारिक र जनस्तरको आवागमनलाई सहज बनाउने अपेक्षासहित भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने मोटरेबल पुल तथा कञ्चनपुरको बनबासा नाकामा एकीकृत जाँच चौकी (ICP) को शिलान्यास गरिएको छ । महाकाली नदीमाथि पक्की पुल बन्नु सुदूरपश्चिमवासीको दशकौँ पुरानो माग हो ।
यस्तै, ऊर्जा क्षेत्रको ठूलो परियोजनाका रूपमा संखुवासभामा बन्ने ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको निर्माण कार्य पनि औपचारिक रूपमा अघि बढाइएको छ । अरुण तेस्रोपछि भारतीय लगानीमा बन्न लागेको यो आयोजनाले नेपालको विद्युत् उत्पादन र निर्यात लक्ष्यलाई सघाउने विश्वास गरिएको छ । इन्धन आपूर्तिलाई सहज र कम खर्चिलो बनाउन मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको उद्घाटन गरिएको छ भने पूर्वी नेपालमा खाना पकाउने ग्यासको ढुवानी लागत घटाउने लक्ष्यसहित झापाको चारआलीमा ग्यास पाइपलाइनको शिलान्यास भएको छ ।
प्रधानमन्त्री शाहको दिल्ली भ्रमणका क्रममा भएका यी गतिविधिले द्विपक्षीय सम्बन्धमा ‘विकास कूटनीति’ले स्थान पाएको सन्देश दिएको छ ।




प्रतिक्रिया